युद्धविरामपछि फेरि आक्रमण सुरु

एजेन्सी । युद्धविरामपछि मध्यपूर्वमा शान्ति कायम हुने अपेक्षाबीच इरान र इजरायलबीच सोमबार बिहान पुनः क्षेप्यास्त्र र हवाई आक्रमणको आदान–प्रदान भएपछि क्षेत्रीय तनाव तीव्र रूपमा बढेको छ । पछिल्ला घटनाले व्यापक युद्ध पुनः भड्किन सक्ने जोखिम बढाएको छ ।
इजरायली अधिकारीहरूले इरानबाट देशतर्फ दुई लहरमा क्षेप्यास्त्र प्रहार भएको पुष्टि गर्दै नागरिकलाई तुरुन्तै सुरक्षित आश्रयमा जान आग्रह गरेका थिए । राजधानी तेल अभिभ र अन्य क्षेत्रमा साइरन बज्दा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको र केही स्थानमा विस्फोटका आवाज सुनिएको जनाइएको छ । अधिकांश क्षेप्यास्त्र अवरोध गरिएको दाबी इजरायलले गरेको छ ।
यसको जवाफी कारबाहीस्वरूप इजरायली सेनाले सोमबार बिहान पश्चिमी र मध्य इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको बताएको छ । इरानी सरकारी सञ्चारमाध्यमले तेहरान, इस्फहान, करज र तब्रिजमा विस्फोटको आवाज सुनिएको रिपोर्ट गर्दै राजधानी वरपर हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । यद्यपि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
इरानको क्रान्तिकारी सुरक्षा बलले इजरायलले हावाबाट प्रक्षेपण गरिएको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको आरोप लगाउँदै आक्रमणलाई गम्भीर उल्लङ्घन भनेको छ । सोही क्रममा इजरायलले ‘आतङ्कवादी शासनसँग सम्बन्धित सैन्य लक्ष्य’ मा कारबाही गरिएको मात्र प्रतिक्रिया दिएको छ ।
यमनबाट प्रक्षेपण भएको क्षेप्यास्त्रका कारण पनि इजरायलमा पुनः चेतावनी साइरन बजेको थियो । उक्त प्रक्षेपण हुथी विद्रोहीहरूबाट भएको आशङ्का गरिएको छ, यद्यपि तत्काल उनीहरूले जिम्मेवारी लिएका छैनन् । साउदी अरबको अमेरिकी सैन्य अड्डा नजिक पनि क्षेप्यास्त्र चेतावनी जारी भए पनि केही समयपछि खतरा हटेको घोषणा गरिएको थियो ।
यसैबीच क्षेत्रीय ऊर्जा आपूर्ति र सुरक्षा अवस्थाप्रति चिन्ता बढेको छ । हर्मुज जलघाँटी आसपासको तनाव, इरानको युरेनियम भण्डार र यमनमा हुथी गतिविधिले द्वन्द्व थप फैलिन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।
पूर्ववर्ती घटनाक्रमअनुसार इजरायलले लेबनानको बेरुतस्थित हिज्बुल्लाह लक्षित हवाई आक्रमण गरेपछि इरान–इजरायलबीच प्रत्यक्ष टकराव बढेको देखिएको हो । सोही शृङ्खलामा सोमबारको आक्रमण भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई तत्काल प्रतिकार नगर्न आग्रह गरेको दाबी अमेरिकी अधिकारीमार्फत बाहिर आएको छ । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको टेलिफोन वार्तामा स्थिति नियन्त्रणमा राख्न सुझाएको बताइएको छ । उनले अमेरिका नै प्रमुख निर्णयकर्ता रहने सङ्केतसमेत गरेका छन् ।
इरान र इजरायलबीचको पछिल्लो टकरावले युद्धविरामको भविष्य अन्योलमा परेको छ भने मध्यपूर्व पुनः पूर्णस्तरको युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढेको छ ।








