२०२६ फिफा विश्वकप: एम्बाप्पेका लागि विशेष अवसर

काठमाडाैं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेका लागि २०२६ फिफा विश्वकप विशेष अवसर बनेर आएको छ ।

क्लब फुटबलमा रियल म्याड्रिडसँग बिताएको निराशाजनक र विवादास्पद सिजनपछि उनी अब आफ्नो सम्पूर्ण ध्यान फ्रान्स राष्ट्रिय टोलीलाई विश्वकप उपाधि दिलाउने अभियानमा केन्द्रित गर्न चाहन्छन् ।

विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिने एम्बाप्पेको प्रदर्शन व्यक्तिगत रूपमा प्रभावशाली भए पनि रियलको समग्र सिजन असफल रह्यो । उनले ला लिगामा २५ गोल र च्याम्पियन्स लिग तथा कोपा डेल रेमा थप १७ गोल गर्दै कुल ४० भन्दाबढी गोल गरे । तर, टोलीले कुनै प्रमुख उपाधि जित्न सकेन ।

सिजनको उत्तरार्धमा चोट, मैदानबाहिरका विवाद र अन्तरिम प्रशिक्षक अल्भारो अर्बेलोआसँगको सम्बन्धबारे उठेका प्रश्नका कारण एम्बाप्पेको प्रभाव कमजोर देखियो । फेब्रुअरीको मध्यदेखि सिजनको अन्त्यसम्म उनले केवल ४ गोल मात्र गर्न सके ।

उपाधिविहीन सिजन

सन् २०२४ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल पुगेका एम्बाप्पे लगातार दोस्रो सिजन पनि प्रमुख उपाधिबाट बञ्चित भए ।

जाबी आलोन्सोको बर्खास्तीपछि रियल कोपा डेल रेको अन्तिम १६ मा अल्बासेटेसँग पराजित भयो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग पनि हार बेहोर्यो ।

ला लिगामा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँगको एल क्लासिको हारपछि रियल उपाधि दौडबाट बाहिरियो । हान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाभन्दा ८ अंकले पछाडि रहँदै म्याड्रिडले सिजन समाप्त गर्‍यो ।

अर्कोतर्फ एम्बाप्पेले छाडेको पिएसजीले भने लगातार दोस्रो पटक च्याम्पियन्स लिग उपाधि जित्यो, जुन ट्रफीका लागि उनले फ्रान्स छाडेर स्पेनको यात्रा गरेका थिए ।

विवादको केन्द्रमा एम्बाप्पे

रियलको खराब सिजन मैदानबाहिरका घटनाले पनि चर्चित बन्यो । एम्बाप्पे स्वयं धेरै विवादमा तानिए । रिपोर्टअनुसार अप्रिलमा रियल बेटिसविरुद्धको खेलअघि प्रशिक्षणका क्रममा एक प्रशिक्षकसँग उनको विवाद भएको थियो ।

त्यसपछि बेटिसविरुद्धको खेलमा ह्यामस्ट्रिङ चोट भएपछि एम्बाप्पे पुनःस्थापनाका लागि क्लबको प्रशिक्षण केन्द्रमा बस्नुभन्दा प्रेमिका तथा स्पेनिस अभिनेत्री एस्टर एक्स्पोसिटोसँग सार्डिनिया घुम्न गएका थिए ।

उनी रमाइरहेको तस्बिर सार्वजनिक भइरहँदा रियल भने ला लिगामा एस्पान्योलविरुद्ध खेलिरहेको थियो । यसले क्लबभित्र र बाहिर दुबै ठाउँमा आलोचना निम्त्यायो । समर्थकहरूले ‘एम्बाप्पे आउट’ अभियान नै चलाए । केही रिपोर्टका अनुसार अनलाइनबाट करोडौं हस्ताक्षर संकलन भएका थिए ।

समर्थकको हूटिङबाट विश्वकपतर्फ

सिजनको अन्त्यतिर रियल ओभिएदोविरुद्धको खेलमा एम्बाप्पेसहित धेरै रियल खेलाडी आफ्नै समर्थकबाट हूटिङको शिकार बने । उपाधि बार्सिलोनाले जितिसकेको र ड्रेसिङ रुममा पनि तनाव बढेको अवस्थामा समर्थकहरू आक्रोशित थिए ।

तर, अब एम्बाप्पेका लागि ती सबै कुरा विगत भइसकेका छन् । उनी आफ्नो सबैभन्दा सफल प्रतियोगिता मानिने विश्वकपमा केन्द्रित छन् ।

मार्च महिनाको अन्तर्राष्ट्रिय विश्रामका क्रममा उनले भनेका थिए, ‘ मैले दुईवटा विश्वकप खेलेको छु। एउटा जितें र अर्कोको फाइनलसम्म पुगें । ठूला प्रतियोगितामा सफल हुन क्लबस्तरमा राम्रो तयारी आवश्यक हुन्छ ।’

विश्वकपका कीर्तिमान पछ्याउँदै

विश्वकप एम्बाप्पेको सबैभन्दा सफल मञ्च रहँदै आएको छ । उनले २०१८ मा १९ वर्षको उमेरमा ४ गोल गर्दै फ्रान्सलाई विश्वकप जिताएका थिए । त्यसबेला उनको तुलना महान् पेलेसँग गरिएको थियो ।

२०२२ को कतार विश्वकपमा पनि उनले ८ गोल गरे, जसमा अर्जेन्टिनाविरुद्धको फाइनलमा गरेको ह्याट्रिक विशेष स्मरणीय छ । यद्यपि फ्रान्स उपाधिबाट भने बञ्चित रह्यो ।

यसपटक उत्तर अमेरिकामा हुने विश्वकपमा एम्बाप्पेसामु धेरै कीर्तिमान छन् । हाल उनी फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभिए जिरुडभन्दा केवल एक गोलले पछाडि छन् । विश्वकपमा पनि उनी फ्रान्सका महान् स्ट्राइकर जस्ट फन्टेनको १३ गोलको कीर्तिमान तोड्ने स्थितिमा छन् ।

त्यसबाहेक विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको रेकर्ड पनि उनको निशानामा छ । अहिले मिरोस्लाभ क्लोजे १६ गोलसहित शीर्ष स्थानमा छन् । एम्बाप्पेका नाममा १२ गोल छ भने लियोनल मेस्सीका नाममा १३ गोल छ ।

हालै दिएको अन्तर्वार्तामा एम्बाप्पेले फ्रान्सलाई फेरि विश्वकप जिताउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएका छन् ।

उनले भने,’ आफ्नो देशको प्रतिनिधित्व गर्नुजत्तिको ठूलो कुरा केही हुँदैन। म टोलीको कप्तान हुँ र त्यो जिम्मेवारीका लागि तयार छु। म टोलीलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा नेतृत्व गर्न चाहन्छु। हामी ट्रफी लिएर पेरिस फर्किन सकौं भन्ने मेरो आशा छ’ उनले थपे, ‘यदि हामीले विश्वकप जित्यौं भने त्यो मेरो व्यक्तिगत विरासत र फ्रान्सको फुटबल इतिहास दुवैका लागि अविश्वसनीय उपलब्धि हुनेछ।’

रियलमा बितेको निराशाजनक सिजनपछि एम्बाप्पेसामु अब आफूलाई फेरि प्रमाणित गर्ने सबैभन्दा ठूलो अवसर आएको छ । विश्वकपमा उनको प्रदर्शनले केवल फ्रान्सको भविष्य मात्र होइन, उनको व्यक्तिगत विरासतलाई पनि नयाँ उचाइमा पुर्‍याउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =