घानाको काठ उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुग्यो

एजेन्सी । घाना, सन् २०२५ मा घानामा काठ र काष्ठजन्य सामग्रीको कूल उत्पादन ९ लाख ५२ हजार क्युबिक मिटर पुगेको छ । घानाको वन आयोगले एक तथ्याङ्क सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।
ट्री फर लाइफ पुनः वृक्षारोपण अभियान २०२६ को शुभारम्भका क्रममा आयोगका मुख्य कार्यकारी ह्यु ब्राउनले उत्पादित काठको निर्यात र स्थानीय आपूर्तिसहित कूल बजार मूल्य करिब २६ करोड अमेरिकी डलर बराबर रहेको जानकारी दिए ।
ब्राउनकाअनुसार ६४ लाख हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रले घानाको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेलिरहेको छ । तथ्याङ्कअनुसार घानाको कुल जनसंख्याको करिब २० प्रतिशत हिस्सा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीविकोपार्जन खाद्यान्न र स्वास्थ्य आवश्यकताका लागि वनमै निर्भर रहेको छ ।
वन स्रोतको दोहन भइरहँदा वन क्षेत्रको दिगोपन सुनिश्चित गर्न र अर्थतन्त्रमा यसको योगदान कायम राख्न सरकारले सन् २०२५ देखि नै विशेष अभियान शुरु गरेको ब्राउनले बताए ।
सो अवसरमा बोल्दै मुख्य कार्यकारी ब्राउनले भने, ‘सन् २०२५ मा मुलुकभरका २३ हजार ६ सय हेक्टर विनाश भएका र उजाड वन क्षेत्रमा वृक्षारोपण तथा पुनस्र्थापनाका कार्यहरू सम्पन्न भएका छन् । हालै गरिएको एक सर्वेक्षणअनुसार, हाई फरेस्ट क्षेत्रमा रोपिएका बिरुवाहरूको जीवित रहने दर ६५ देखि ८५ प्रतिशत र उत्तरी सवाना क्षेत्रमा ४० देखि ७८ प्रतिशतसम्म पाइएको छ ।’
मुलुकको वन क्षेत्रलाई संरक्षण गर्दै आर्थिक लाभ लिन सरकारले वृक्षारोपणका कार्यक्रमहरूलाई तीव्रता दिएको आयोगले जनाएको छ ।








