दक्षिण लेबनानमा इजरायली आक्रमण तीव्र: तीन सैनिकसहित १४ जनाको मृत्यु

एजेन्सी । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा तीन सैनिकसहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीकाअनुसार इजरायली सेनाले लेबनानी सैन्य टोली र सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

लेबनानी सेनाकाअनुसार नबातिया क्षेत्रको खार्दाली–कफार तेबनित सडकमा गस्ती गरिरहेको सैन्य सवारी साधनमाथि आक्रमण हुँदा तीन सैनिकको मृत्यु भएको हो । इजरायली रक्षा बल (आईडीएफ) ले उक्त घटनाप्रति चासो व्यक्त गर्दै अनुसन्धान शुरु गरिएको जनाएको छ ।

आईडीएफले उक्त सवारी साधन सक्रिय युद्ध क्षेत्रमा देखिएको र हिजबुल्लाहको खतरा रहेको सूचनाका आधारमा कारबाही गरिएको दाबी गरेको छ । साथै इजरायलले आफ्नो सैन्य कारबाही हिजबुल्लाह विरुद्ध मात्र केन्द्रित रहेको र लेबनानी सेना आफ्नो निशानामा नरहेको स्पष्ट पारेको छ ।

यसैबीच, लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले उक्त आक्रमणको कडा शब्दमा भत्र्सना गरेको छ । युनिफिलले यसलाई लेबनानको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव १७०१ को गम्भीर उल्लंघन भएको ठहर गरेको छ ।

यता लेबनानी संसदका सभामुख नबिह बेरीले इजरायली दाबीलाई अस्वीकार गर्दै यो घटना कुनै प्राविधिक गल्ती वा संयोग नभई नियोजित भएको बताउनुभएको छ । अन्य क्षेत्रमा भएका आक्रमणहरूमा सिडोन जिल्लाको साकसाकिया शहरमा ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, देइर अल–जहरानी राजमार्गमा एक, हारौफमा दुई, जुआईयामा एक र अब्बासियामा एक गरी थप पाँच जनाको ज्यान गएको छ । इजरायली सेनाले जेजिन जिल्ला र अन्सारीया क्षेत्रका विभिन्न गाउँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान निर्देशन (इभाकुएसन अर्डर) जारी गरेको छ ।

आईडीएफका अनुसार सप्ताहन्तमा दक्षिण लेबनानमा हिजबुल्लाहका १५० भन्दा बढी सैन्य पूर्वाधार, हतियार भण्डार, कमान्ड सेन्टर र रकेट लन्चरहरूमा आक्रमण गरिएको छ । अर्कोतर्फ, हिजबुल्लाहले सार्किया क्षेत्रमा इजरायली हर्मिस ४५० ड्रोनलाई आफ्नो क्षेत्रबाट लखेटेको दाबी गरेको छ । यसबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

लेबनानको सार्वजनिक स्वास्थ्य संकटकालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, गत अक्टोबरदेखि हालसम्म इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ हजार ५ सय ९३ पुगेको छ भने १० हजार ९ सय ९० जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =