इजरायली दाबीको लेबनानी शहर मघदुशेद्वारा खण्डनः ‘हाम्रो शहर हतियारमुक्त र शान्त छ’

एजेन्सी । दक्षिण लेबनानको मघदुशे सहरका बासिन्दाहरूले आफ्नो क्षेत्रमा हिजबुल्लाहका हतियारहरू रहेको भन्ने इजरायली दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।

आईतवार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै स्थानीय बासिन्दाहरूले मघदुशे एक शान्तिपूर्ण सहर भएको र त्यहाँ कुनैपनि सैन्य गतिविधि नभएको स्पष्ट पारेका हुन् ।

शहरका बासिन्दाहरूको तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘मघदुशे एक ऐतिहासिक र शान्त शहर हो । हाम्रो एकमात्र हतियार भनेको लेबनान राष्ट्र र यहाँका जनताप्रतिको अटुट विश्वास हो । हामी स्पष्ट पार्न चाहन्छौँ कि यहाँ कुनै पनि प्रकारका गैरकानूनी हतियार वा आधिकारिक निकायको अधिकारलाई चुनौती दिने खालका गतिविधिहरू छैनन् ।’

स्थानीयहरूले मघदुशे शहर सधैँ लेबनानी राज्यको कानुनी अधिकार र सार्वभौमिकताको अधीनमा रहेको उल्लेख गर्दै मुलुकको सुरक्षा निकाय र सेनाप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् ।

उनीहरूले लेबनानी सरकार र सैन्य नेतृत्वलाई सुरक्षा खतराहरू सम्बोधन गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न थप प्रभावकारी कदम चाल्न समेत आग्रह गरेका छन् ।

इजरायलले बेरुतको दक्षिणी उपनगर र दक्षिण लेबनानका विभिन्न क्षेत्रहरूमा सैन्य कारबाही तीव्र पारिरहेका बेला मघदुशेका बासिन्दाहरूको यो प्रतिक्रिया आएको हो । लेबनानी अधिकारीहरूका अनुसार आइतबार भएका इजरायली हवाई र ड्रोन आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

सीमा क्षेत्रमा जारी तनाव र दुवै पक्षबाट भइरहेका क्षेप्यास्त्र प्रहारका कारण यस क्षेत्रमा मानवीय संकट र सुरक्षा चुनौती थप जटिल बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =