नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत घट्यो

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ ।

सरकारी तथ्यांकअनुसार पछिल्लो ४ वर्षयता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाइले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य बाहिर आएको हो ।

बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा बोल्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले उक्त तथ्य बताएकी हुन् ।

उनले आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा परियोजना र त्यसबाट आउने बजेट ४० अर्ब रहेको भएपनि त्यसयता परियोजना र स्रोत दुवै हरेक वर्ष घट्दै गएको उल्लेख गरिन् । मन्त्रालयले चालु आर्थिक वर्षमा पनि त्यस्ता परियोजना र स्रोत घटना आङ्कलन गरेको छ । सचिव अर्यालले विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पारेको प्रभाव कारण पनि नेपालमा यस्ता परियोजना र त्यसबाट आउने बजेट घट्दै गएको हुनसक्ने पनि बताइन् ।

उनले भनिन् ‘पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट आउने स्रोत र परियोजना दुवै घटेको देखिन्छ । पछिल्लो ४ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ९८ परियोजना र ती परियोजनामार्फत ४० अर्ब रकम स्रोत नेपालमा आएको थियो भने पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा हेर्दा परियोजनाको संख्या दुई तिहाइले घटेको छ । र, स्रोत पनि आधा नै घटेको अवस्था छ । र, अहिले चालु आर्थिक वर्षको नै ट्रेन हेर्ने हो भने पनि यो परियोजनाको संख्या र परियोजनाबाट आउने स्रोत घटने नै आङ्कलन गर्न सकिन्छ । यसमा विविध कारणहरू हुनसक्छ । यसमा यहाँ नै अझ बढी जानकार हुनुहुन्छ । ग्लोबल इकोनोमिक क्राइसेस, ग्लोबल पोलिसी सिफ्ट हुनसक्छ । अथवा नेपालको आफ्नै इन्टरनल कन्फिडेन्सी बढेको अथवा नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पनि यसलाई प्रभाव पारेको हुन सक्छ । यसको अतिरिक्त अरू कारणहरू पनि हुन सक्छ ।’

सचिव अर्यालले नेपालमा गैर सरकारी संस्थाहरूलाई कडाइका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =