रवि लामिछाने काठमाडौँ फर्किए लगत्तै परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने

काठमाडौँ । पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भोलि (शुक्रबार) स्वदेश फर्किने भएका छन् ।
लामिछाने स्वदेश फर्किएकै दिन परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने तयारी रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्री खनाल जुन ५ (शुक्रबार) दिउँसो भारत प्रस्थान गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उनले जुन ६ मा भारतीय समकक्ष एस. जयशंकरसँग भेटवार्ता गर्नेछन् । भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित तथा दुवै देशका साझा सरोकारका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
हाल सभापति लामिछानेसँग भारत भ्रमणमा रहेका रास्वपाका प्रभास विभाग प्रमुख तथा सांसद दीपक बोहोराका अनुसार परराष्ट्रमन्त्री खनालको भ्रमणमा नेपाल–भारत सम्बन्धका प्राथमिकताका विषयहरू मुख्य एजेन्डा बन्नेछन् ।
उनका अनुसार मंगलबार सभापति लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा उठेका विषयहरूलाई परराष्ट्र मन्त्रालयमार्फत औपचारिक प्रक्रियामा अघि बढाउने तयारी गरिएको छ ।
नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने उद्देश्यसहित परराष्ट्रमन्त्री खनालको भारत भ्रमण हुन लागेको बताइएको छ ।








