किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको छ: कृषिमन्त्री

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताएकी छन् ।

बुधवार प्रतिनिधि सभाका सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।

मन्त्री चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी पनि दिइन् । उनले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको तथ्य पनि संसद्मा स्मरण गराइन् । उनले सरकारले रासायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको पनि स्पष्ट पारिन् ।

उनले भनिन् ‘नेपाल सरकारले लागत सहभागिता को आधारमा अनुदानमा किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको जानकारी गराउन चाहन्छु । चालू आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ भने ४ लाख ६३ हजार १६० मेट्रिक टन किसानलाई विक्री गरिसकिएको छ । गोदाममा रहेको र नेपाल भित्री सकेको गोदाम इन्ट्री हुन बाँकी रहेको हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मत मौजाद रहेको छ । चालू आर्थिक वर्षको असारसम्मको अवधिमा करिब ६ लाख मेट्रिक टन किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ । जुन अहिलेसम्मकै बढी परिणाम हुनेछ । जारी मध्यपूर्वको द्वन्द्वको कारण मलको उत्पादन र आपूर्ति समस्या एवम् मलको मूल्यमा उच्च वृद्धि भएको छ । यस परिस्थितिमा चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा बजेटबाट खर्च हुनेगरी सम्झौता भइसकेको एक लाख ८७ हजार मेट्रिक टन मल आउन सकेको छैन । नजिकै आईसकेको धान रोपाईको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयको विशेष ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु । यस क्रममा मल आपूर्तिको सम्झौता भइसकेका आपूर्तिकर्ताहरूलाई समयमा नै मल आपूर्ति गर्नका लागि मन्त्रालयले ताकेता गरेको पनि जानकारी गराउन चाहन्छु । यसैगरी मित्रराष्ट्र भारतसँग जीटुजी माध्यमबाट ५० हजार मेट्रिक टन मल खरिद गर्न मन्त्रीपरिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी सोही अनुसार मलको खरिद प्रक्रिया सुरु गरिएको माननीय सदस्यहरूलाई जानकारी गराउन चाहन्छु । साथै मलको सन्तुलित प्रयोग र प्राङगारिक तथा जैविक मल प्रयोग जोड दिन जानकारीमूलक सूचना देशभर प्रवाह गरेको कुरा जानकारी गराउन चाहन्छु ।’

मन्त्री चौधरीले सरकारले चालु आर्थिक वर्षमा विगत वर्षहरूमा भन्दा बढी रासायनिक मलको वितरण गरेको दाबी समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =