बक्स अफिसमा ‘लालीबजार’ अगाडि, ‘एक मुठ्ठी बादल’ पछाडि

काठमाडौँ । नेपालमा हाल प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ ।
नेपाल चलचित्र विकास बोर्डले जेठ ९ गते शनिबार राति ११:५९ बजेसम्मको तथ्यांक आइतबार सार्वजनिक गरेको हो ।
हाल देशभरका हलमा ६ वटा नेपाली चलचित्र प्रदर्शनरत रहेका छन् ।
सार्वजनिक विवरणअनुसार वैशाख १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ बक्स अफिसमा सबैभन्दा अगाडि देखिएको छ । चलचित्रले १ लाख ९६ हजार ४०६ वटा टिकट बिक्री गर्दै ५ करोड ७८ लाख ३९ हजार ४७१ रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डले जनाएको छ ।
त्यस्तै वैशाख ११ गतेदेखि प्रदर्शनमा रहेको परालको आगोले १ लाख ५३ हजार ९२५ वटा टिकट बिक्री गर्दै ४ करोड २७ लाख ५३ हजार ६४५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
वैशाख २५ गतेबाट प्रदर्शनमा आएको ‘मालतीमंगले’ले १६ हजार १३७ वटा टिकट बिक्री गर्दै ५१ लाख ६३ हजार ५९३ रुपैयाँ व्यापार गरेको छ । सोही मितिबाट प्रदर्शनमा आएको गुरुआमाले ९ हजार ३२७ वटा टिकट बिक्री गर्दै २९ लाख २४ हजार ५७६ रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्यांकमा उल्लेख छ ।
यता जेठ १ गतेदेखि प्रदर्शनमा आएका ‘लाइफ ड्यामेज’ र ‘एक मुठ्ठी बादल’ भने बक्स अफिसमा अपेक्षाकृत कमजोर देखिएका छन् । लाइफ ड्यामेजले ९ हजार २४१ वटा टिकट बिक्री गर्दै २८ लाख ४६ हजार १७० रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने एक मुठ्ठी बादल ले १ हजार ५०१ वटा टिकट बिक्री गर्दै ५ लाख २१ हजार ८२५ रुपैयाँ व्यापार गरेको छ ।









