ओलीसँग गुरुङको चर्काचर्की, सोधे: कसलाई धम्की दिएको ? एमाले तपाईँले मात्रै बनाएको पार्टी हो ?

काठमाडौं । नेकपा (एमाले) को आठौँ सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच चर्काचर्की भएको छ । शुक्रबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवासमा बसेको बैठकमा नेतृत्व, पुनर्गठन र पार्टी दिशाबारे विवाद चुलिएको हो ।

बैठकमा अध्यक्ष ओलीले पार्टी आन्दोलन संकटमा परेको अवस्थामा नेतृत्वको रक्षा गर्नुपर्नेमा पुनर्गठन अभियान चलाइएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले नेतृत्वको प्रतिरक्षा नगर्ने र आन्दोलन कमजोर बनाउनेलाई अनुशासनात्मक कारबाही हुन सक्ने चेतावनी दिएका थिए ।

ओलीको अभिव्यक्तिपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले कडा प्रतिवाद गर्दै एमाले कुनै व्यक्तिको निजी पार्टी नभएको टिप्पणी गरेका थिए ।

‘एमाले तपाईंले मात्रै बनाएको पार्टी हो ? यो पार्टीमा हाम्रो योगदान छैन ? कसलाई धम्की दिइरहनुभएको हो ?’ भन्दै गुरुङले असन्तुष्टि जनाएपछि केहीबेर बैठकको माहोल तनावपूर्ण बनेको सहभागी नेताहरूले बताएका छन् ।

बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टी नेतृत्वमाथि ‘डिप स्टेट’ लगायत बाह्य शक्तिको घेराबन्दी रहेको दाबी गरेका थिए । उनले सुरक्षा निकायसमेत त्यसमा प्रभावित भएको टिप्पणी गरेका थिए ।

बादलको भनाइपछि अध्यक्ष ओलीले समर्थन जनाउँदै उनका अभिव्यक्तिहरू सही रहेको बताएका थिए ।

उपाध्यक्ष विष्णु पौडेलले पार्टी पुनर्गठन आवश्यक रहेको धारणा राख्दै ७० वर्षे उमेर हद र दुई कार्यकाल सम्बन्धी प्रावधान पुनर्विचार गर्नुपर्ने बताएका थिए ।

त्यस्तै, २०७५ सालमा भएको एमाले–माओवादी एकता हतारमा भएको भन्दै त्यसको समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।

उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पनि पार्टीको कार्यशैली, नीति र संगठनात्मक संरचनाको बृहत् समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =