हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सहायक हवल्दार कार्कीलाई सम्मान

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा जेठ ८ गते सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरुलाई सम्मान गरेको हो ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिदैँ हिमालको चुचुरोमा राष्ट्र तथा संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए ।

उनले उच्च मनोवल तथा आँट र साहस लिई विश्वको सर्वोच्च शिखर सगरमाथामा राष्ट्र तथा संगठनको झण्डा फहराउदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको चर्चा गर्दै यस्ता प्रकृतिका कार्यहरुलाई संगठनले अझै उच्च प्राथमिकतासाथ अगाडी बढाउने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरुले विश्वको सर्वोच्च शिखरको सफल आरोहणकासाथै हिमाली तथा उच्च पहाडी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमतालाई सुदृढ बनाउन मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमा उच्च भू–भाग खोज तथा उद्धार लगायतका तालिमहरुको संचालनले हिमाली तथा उच्च पहाडी भू–भागहरुमा उद्धार तथा सीमा सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपाल थप सक्षम हुँदै गएको बताए ।

सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेका थिए ।

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिईन् भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिईन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् । उनीहरुको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =