सरकारलाई नेकपा सांसद राईले भनिन्: गरिब र निमुखालाई पनि बाँच्न देऊ सरकार !

काठमाडौं । नेकपाकी राष्ट्रिय सभा सांसद जयन्तिदेवी राईले गरिब तथा निमुखा जनतालाई पीडा दिने काम नगर्न सरकारलाई चेतावनी दिएकी छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले सुकुम्बासी बस्तीमा सरकारले अत्यधिक पीडा दिएको आरोप लगाउँदै नागरिकको बाँच्न पाउने अधिकार हनन नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद राईले सुकुम्बासी बस्तीबाट विस्थापित भएका नागरिक झन् जोखिमपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै उनीहरूको गाँस, बासको तत्काल व्यवस्था गर्न माग गरिन् ।
‘सरकार, गरिब निमुखालाई पनि बाँच्न देऊ । तपाईंसँग जनताले ठूलो अपेक्षा राखेका छन् । यो दुर्दशा हेर्नका लागि सरकार बनेको होइन,’ उनले भनिन् ।
उनले सरकारले गरिब नागरिकमाथि अन्याय गरिरहेको आरोप लगाउँदै विस्थापित परिवारको व्यवस्थापनमा गम्भीर बन्न आग्रह गरिन् ।
त्यसैगरी, सांसद राईले हुम्ला र बाजुरामा सीमा विवादका कारण झडप र कुटपिटका घटना भएको उल्लेख गर्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।
‘हुम्ला र बाजुरामा सीमा विवादका विषयलाई लिएर झडप र हातपात भएको छ । यो गम्भीर विषय हो । यस्ता घटना बढ्दै गए थप अप्रिय अवस्था आउन सक्छ,’ उनले भनिन् ।
सीमा विवादको वास्तविकता पत्ता लगाएर समयमै समस्या समाधान गर्न उनले सरकारसँग आग्रह समेत गरिन् ।








