नेपालगञ्जमा अनियमित विद्युत् कटौती रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमाले सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले नेपालकै बढी गर्मी हुने सहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत् कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताए ।
अत्यधिक गर्मीको समयमा विद्युत् सेवा भरपर्दो नहुँदा नागरिकको दैनिक जीवनयापन र बसाइ कठिन भएको उल्लेख गर्दै उनले यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । सभामुखमार्फत सरकारको विशेष ध्यानाकर्षण गराउँदै सांसद राईले बाँके लगायतका गर्मी क्षेत्रमा देखिएको विद्युत्को प्राविधिक समस्या तत्काल समाधान गरी आपूर्ति सहज बनाउन माग गरेका छन् ।
उनले भने ‘नेपालगञ्जमा अहिले विद्युतको अवस्था निकै दयनीय छ । लो भोल्टेज र छिनछिनमा बत्ती काटिने समस्याले आम नागरिक प्रताडित छन् ।’
उनले बढ्दो तापक्रमका बीच विद्युत् सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारको तत्काल कदम आवश्यक रहेको बताए ।








