अनुमति बिना सञ्चालन भएका कन्सल्टेन्सीमाथि अनुसन्धानप्रति महासंघको समर्थन

काठमाडौँ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले केही शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुसन्धान तथा कानुनी कारवाहीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालय, टेकुद्वारा हालै जारी प्रेस विज्ञप्तिमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०४९ तथा ‘शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३’ बमोजिम अनुमति नलिई सञ्चालन भएका केही संस्थामाथि अनुसन्धान अघि बढाइएको उल्लेख गरिएको थियो ।
महासंघले विधिवत् अनुमति बिना सञ्चालन भएका संस्थामाथि गरिएको अनुगमन, अनुसन्धान तथा कानुनी कारवाही प्रक्रियाप्रति पूर्ण समर्थन व्यक्त गर्दै सरकारलाई धन्यवाद समेत दिएको छ ।
महासंघका अनुसार यस्ता कदमहरूले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्नेछ ।
महासंघले आफ्ना सदस्य संघहरू तथा कम्पनीहरू सम्बन्धित कानुन र प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन भइरहेको स्पष्ट पारेको छ । साथै, सदस्य संस्थाहरूलाई भ्रम वा दबाबमा नपरी कानुनी रूपमा सेवा सञ्चालन गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, विद्यार्थी तथा अभिभावकहरूलाई पनि सरकारबाट स्वीकृति प्राप्त तथा महासंघमा आबद्ध संस्थाबाट मात्र परामर्श सेवा लिन महासंघले अनुरोध गरेको छ ।
महासंघले व्यवसाय सञ्चालनका क्रममा देखिने नीतिगत वा व्यवहारिक समस्यामा सम्बन्धित निकायसँग समन्वय गर्न पनि आग्रह गरेको छ । साथै, व्यक्तिगत विवाद, भिसा अस्वीकृति वा अन्य कारण देखाई व्यवसायीहरूलाई अनावश्यक दबाब दिने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
साथै महासंघले सबै शैक्षिक परामर्श व्यवसायीहरूलाई कानुनी दायराभित्र रही पारदर्शी र जिम्मेवार सेवा प्रदान गर्न आह्वान गरेको छ।








