विपिनसँगको केमेस्ट्री भएको ‘काजी’ ले दर्शकलाई आकर्षित गर्नेछ: केकी अधिकारी

काठमाडौँ । अभिनेत्री केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदै छिन् । सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन् ।

फिल्म काजी र कजिनीको प्रेमकथामा बनेको छ ।

हालै राजधानीमा आयोजित कार्यक्रममा उनले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ ।

उनले भनिन्, ‘हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, हामीलाई कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ। मानव मनोविज्ञान नै त्यस्तो हुन्छ। तर ‘काजी’ को संसारमा भने त्यो सोचभन्दा बिलकुल फरक र भावनात्मक गहिराइ भेटिन्छ ।’ उनका अनुसार फिल्मकी पात्र ‘कजिनी’ लाई ‘काजी’ ले जति प्रेम गर्छ, त्यति प्रेम कजिनीले सात जुनीसम्म पनि फर्काउन सक्दिनँ भन्ने अनुभूति हुन्छ ।

फिल्मको कथालाई स्पष्ट पार्ने क्रममा केकीले रामायणको प्रसङ्ग पनि जोडिन् ।

‘राम र सीताको कथामा पनि सीताले रामका लागि धेरै त्याग गरेकी थिइन् भन्ने मलाई लाग्छ । वनवास गइन्, अग्निपरीक्षा दिइन्। तर ‘काजी’ को संसारमा कजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्न सक्छिन्,’ उनले भनिन्, ‘फिल्ममा कजिनीले अनुभव गर्ने समर्पण, त्याग र प्रेमले यहाँ प्रेमले संसार थामेको छ भन्न सकिन्छ ।’

कजिनीको पात्रबारे बोल्दै उनले अर्को रोचक पक्ष पनि खुलाइन् । उनका अनुसार कजिनीलाई ‘काजी’ जस्तो श्रीमान् पाउनु कुनै संयोग नभई अघिल्ला जन्महरूको पुण्यको फलजस्तो लाग्छ। उनले भनिन्,‘कजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौँ जन्ममा काजीलाई पाउनु हो भन्ने भाव छ ।’

उनका अनुसार ‘कजिनी’ का लागि संसारमा सबैभन्दा ठूलो कुरा सम्बन्ध हो । काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन् । ‘कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो, संसारका अरू सबै कुरा साना लाग्छन्,’ केकीले फिल्ममा कजिनी पात्रबारे आफ्नो अनुभव सुनाइन् ।

काजीकै प्रेम र विश्वासले आफू चरित्रमा वास्तविक कजिनी नै भएर बाँचेको सुनाउँदै उनले भनिन्,‘कजिनीको सबैभन्दा ठूलो आत्मविश्वास नै काजीको उ प्रतिको प्रेम र विश्वास हो । त्यो चिजले मानिसलाई कति धनी बनाउँछ । कति आत्मविश्वासी बनाउँछ भन्ने कुरा फिल्ममार्फत देखाइएको छ ।’ केकीले भनिन् ।

फिल्मको कथावस्तुले उनलाई सुरुदेखि नै भावनात्मक रूपमा जोडेको थियो। फिल्ममा कजिनी पात्र सामान्य छैन, यसभित्र धेरै पीडा, माया र जिम्मेवारी छ,’ उनले भनिन् ।

अभिनेता विपिन कार्कीसँगको सहकार्यलाई उनले निकै सहज र स्मरणीय स्मरणीय अनुभवको रूपमा लिएकी छन् । विपिनसँगको भावनात्मक केमेस्ट्री र पारिवारिक कथावस्तुमा बनेको फिल्मले दर्शकलाई आकर्षित गर्ने उनको विश्वास छ ।

करिब डेढ दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय केकीले सधैँ फरक र सशक्त पात्र रोज्दै आएकी छन् । पछिल्लो समय ‘बोक्सीको घर’ जस्तो महिला केन्द्रित फिल्ममार्फत चर्चा कमाएकी उनले राम्रो कथा र समाजसँग जोडिएका विषयलाई प्राथमिकता दिने बताउँदै आएकी छन् ।

केकीको अभिनय यात्रालाई नजिकबाट हेर्नेहरूका लागि ‘काजी’ उनको परिपक्व अभिनयको अर्को अध्याय बन्न सक्ने अपेक्षा गरिएको छ । फिल्मको प्रचार सामग्रीमा केकी र विपिनको जोडीलाई दर्शकले निकै रुचाएका छन् । सार्वजनिक ट्रेलर र गीतमा देखिएको उनीहरूको प्रस्तुतिले पनि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

फिल्म यही जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदै छ । ग्रामीण परिवेशमा आधारित फिल्मले भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ । फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =