सरकारबारे प्रतिनिधि सभाका सांसदहरुको विश्लेषणः प्रभावहीन र कमजोर बन्दै गयो

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले जनविश्वास गुमाउँदै गएको भन्दै सरकारको आलोचना गरेका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरु रिङ्गला यादव, रिना उप्रेती, रिमा विश्वकर्मालगायतले सरकार कमजोर र प्रभावहीन बन्दै गइरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
सांसद यादवले उखु किसानको भुक्तानी अझै दिने काम गर्न नसकेको भन्दै सरकारको क्षमतामाथि नै प्रश्न उठाइन् । उनले पटक पटक दिने भनिएको उखु किसानको भुक्तानी अझै उपलब्ध नहुँदा पनि सरकारले आवश्यक कदम चाल्न नसकेको गुनासो समेत गरिन् ।
सरकारले प्रेसमाथि अकुंश लगाउने खालका गतिविधि गरेको सांसद रिना उप्रेतीको आरोप छ । उनले प्रेसलाई आतंकित बनाउने काम तत्काल बन्द गर्न पनि सरकारलाई सचेत गराइन् । ‘सरकारले स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने, यसको भुमिकालाई संकुचित गराउने नीतिहरु अघि सारेर स्वतन्त्र प्रेसको संरक्षण र विकासमा सरकार सहयोगी हुनुपर्नेमा निरंकुश चरित्र प्रर्दशन गर्नु खेदजनक हो । प्रेसलाई आतंकित गराउने, नियन्त्रण गर्ने र असहयोग गर्ने कुनै पनि सत्तालाई लोकतान्त्रिक भनिदैन । लोककल्याणकारी विज्ञापन प्रेसलाई दिने व्यवस्था अघि बढाउन सरकारसँग माग गर्दछु’ उनले भनिन् ।
सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौति दिइन् । जातीय हिंसालाई दलितको मात्रै मुद्धा ठान्ने, नसुनेझै, नदेखेझै गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उनको भनाई थियो ।
सांसद विश्वकर्माले दलित समुदायमाथि क्षमायाचना गर्नुअघि उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याइन् ।








