पेट्रोलियम उत्खनन गर्न सुर्खेत-दैलेख सडकखण्ड व्यवस्थित बनाउन आवश्यक: वासना थापा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी सडकको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत–दैलेख सडकखण्ड व्यवस्थित बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पारे । सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारलाई सचेत गराए । उक्त अस्पतालको प्रभावकारी सञ्चालन गर्ने काममा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनको भनाई थियो ।
प्रमुख सचेतक थापाले भनिन् ‘कर्णाली प्रदेशको जीवन रेखाको रूपमा रहेको सुर्खेत–दैलेख सडक खण्ड आज पनि साँघुरो र जोखिमपूर्ण अवस्थामा छ । दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी र सफल बनाउन सडक फराकिलो बनाउन तत्काल आवश्यक देखिन्छ । म यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैगरी दैलेख जिल्ला अस्पताल अस्तव्यस्त अवस्थामा छ । त्यसको प्रभावकारी संचालनका लागि आवश्यक काम गरियोस् ।’
प्रमुख सचेतक थापाले सरकारले स्वास्थ्य चौकीहरूको सुधारमा पनि ध्यान दिनुपर्ने बताए ।








