श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन सभामुखको चेतावनी

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिएका छन् ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरुद्ध पारेपछि उनले सो चेतावनी दिएका हुन् ।
सभाको मर्यादाविपरित संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने, गरेकोले उक्त पार्टीका सांसदहरूलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुपरेको सभामुख अर्यालले स्पष्ट पारे ।
उनले भने,‘हर्कराज राईसहित श्रम शक्ति पार्टीका माननीय सदस्यहरूले नियमित रुपमा सभाको मर्यादाविपरित संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने, गरेकोले म माननीय सदस्यहरुलाइ प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु ।’
उक्त पार्टीका सांसदहरूले दैनिक रुपमा प्रधानमन्त्री बालेन्द्र साहको विरोध गर्दै बैठकमा अवरोध गर्दै आएका छन् । अध्यक्ष राईले बैठक कक्ष नै छोडेर पनि हिँडेका छन् । –न्युज एजेन्सी नेपाल








