लिचीबारी घुस प्रकरणमा पूर्वमन्त्री गुप्तालाई रिहा गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पोखराको लिचीबारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेपछि गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

यद्यपि, सर्वोच्च अदालतको लिखित आदेश भने हालसम्म सार्वजनिक भएको छैन ।

यसअघि पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य नियुक्त गराइदिने आश्वासन दिएर घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =