दुई तिहाइको सरकार मानवताप्रति कति निर्दयी हुँदो रहेछ !- नेकपा सांसद सुनार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद भवन बहादुर सुनारले सुकुम्वासी बस्तीबाट हटाएका नागरिकको संरक्षणमा सरकार अनुदार रहेको आरोप लगाएका छन् ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले सुकुम्वासीमाथि भइरहेको सरकारी व्यवहारप्रति असन्तुष्टि जनाउँदै राज्यको मानवीय संवेदनामाथि प्रश्न उठाएका हुन् ।

उनले सेल्टरको नाममा विस्थापित गरिएका वृद्ध, गर्भवती, सुत्केरी, बालबालिका र बिरामीहरूको कारुणिक अवस्था देख्दा पनि राज्य निष्ठुर बनेको टिप्पणी गरे ।

उनले भने ‘सुकुम्वासी बस्तीको आवाज युद्धपछिको खण्डहर भूमिजस्तै भएको छ, सेल्टरमा राखिएको भन्ने वर्षे झरीमा आफ्नै भुmपडीको ओतबाट लखेटिएका वृद्ध, सुत्केरी, गर्भवती, रोगी, बालबालिका रोइरहेको कारुणिक आवाज, आशुका धारा र चित्कारले कसको पो मन नरोला, धन्य बालेन्द्र सरकार, दुई तिहाइको सरकार कति निठुर हुँदो रहेछ, मानवताप्रति !’

नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको विवादले कानुनी र न्यायिक क्षेत्रमा नकारात्मक असर पर्ने देखिएको बताए । न्यायपालिकाको स्वतन्त्रता कुनै पनि हालतमा कमजोर हुन नहुने उनको भनाई छ । उनकाअनुसार न्यायपालिकालाई स्वतन्त्र राख्नु कार्यपालिका, व्यवस्थापिका र सबै संवैधानिक निकायको साझा जिम्मेवारी हो ।

उनले कामु प्रधानन्यायाधीशले सर्वोच्च अदालत प्रशासनलाई अलपत्र परेका रिट तत्काल दर्ता गर्न दिएको निर्देशन प्रशासनले नमान्नुले न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताए । उनले सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू कार्यकक्ष छाडेर बाहिरिएको घटनाले न्यायिक वृत्त दिनभर तरंगित बनेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =