अमृत झा अझै इरानको जेलमै, रिहा भएको सरकारी दाबी गलत साबित

काठमाडौँ । नेपालको परराष्ट्र मन्त्रालयले इरानको Qeshm Island मा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको अवस्थाबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनुअघि नै, जनवरी २०२६ को सुरुमा अमृत झा सहित अन्य ६ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीहरूले Qeshm Island बाट नियन्त्रणमा लिएका थिए ।
हाल उनी इरानको बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
परराष्ट्र मन्त्रालयले १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल Shahram Shantiaee बाट कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको अनौपचारिक जानकारी प्राप्त भएको जनाएको छ ।
सोही सूचनाका आधारमा मन्त्रालयले विज्ञप्ति जारी गर्नुका साथै परराष्ट्र मन्त्रीले सामाजिक सञ्जालमार्फत झा रिहा भएको जानकारी सार्वजनिक गरेका थिए ।
तर त्यसपछि प्राप्त थप जानकारीअनुसार अमृत झा रिहा नभएको र अदालतले मुद्दासम्बन्धी Expert Report तयार गर्न निर्देशन दिएको खुलेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस विषयमा झाका परिवारलाई समेत जानकारी गराइसकिएको छ ।
मन्त्रालयले अदालतमा मुद्दा विचाराधीन रहँदा झा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योल र असुविधाप्रति क्षमायाचना गरेको छ ।
हाल Expert Report तयार गरी अदालतमा बुझाउने प्रक्रिया चलिरहेको जनाउँदै मन्त्रालयले इरानको कानुनअनुसार मुद्दाको सुनुवाइ हुने र अमृत झाको निष्पक्ष सुनुवाइ तथा आवश्यक कूटनीतिक पहल जारी रहेको जनाएको छ ।









