‘ट्रान्सप्लान्ट एसियन ओपन च्याम्पियनसिप-२०२६’ मा नेपालका शर्मालाई स्वर्ण र रजत पदक

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेराका हरिनारायण शर्माले थाइल्यान्डको बैंककमा हालै सम्पन्न दोस्रो पेटांक ट्रान्सप्लान्ट एसियन ओपन च्याम्पियनसिप–२०२६ मा एक स्वर्ण र एक रजत पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएका छन् ।

शर्माले पुरुष सिंगल्स (नेशन्स ग्रुप) अन्तर्गत स्वर्ण पदक तथा मिक्स डबल्स (नेशन्स ग्रुप) मा रजत पदक जित्न सफल भएका हुन् ।

उक्त प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, भुटान, चीन, हङकङ, हंगेरी, भारत, मलेसिया र थाइल्यान्ड गरी ९ देशका ८५ जना ट्रान्सप्लान्ट खेलाडीहरूको सहभागिता रहेको थियो । मिर्गौला प्रत्यारोपण गराएका शर्मा नेपाल प्रत्यारोपण खेलकुद संघका महासचिव हुनुहुन्छ तथा मा नेपालको तर्फबाट टिम म्यानेजरको रूपमा कार्यरत छन् ।

उनले सन् २००७ मा मिर्गौला प्रत्यारोपण गराएका थिए र त्यसयता अंगदान तथा प्रत्यारोपणसम्बन्धी जनचेतना अभियानमा सक्रिय रूपमा योगदान दिँदै आएका छन् । यस ऐतिहासिक उपलब्धिपछि शर्माले आफूलाई दोस्रो जीवन प्रदान गर्ने अंगदाताप्रति विशेष आभार व्यक्त गरेका छन् । साथै यस यात्रालाई सम्भव बनाउने सम्पूर्ण डाक्टर तथा स्वास्थ्यकर्मीप्रति पनि उहाँले हार्दिक सम्मान र कृतज्ञता प्रकट गरेका छन् ।

उनले भने ‘कसैले गरेको अंगदानकै कारण आज म बाँच्न, सपना देख्न, समाजसेवा गर्न र मिर्गौला प्रत्यारोपणपछि पनि अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्न सक्षम भएको छ ।’

उनको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण ट्रान्सप्लान्ट प्राप्तकर्ता, अंगदाता परिवार, प्रत्यारोपणको प्रतीक्षामा रहेका बिरामी तथा जीवनको दोस्रो अवसरमा विश्वास गर्ने सबैका लागि प्रेरणाको स्रोत बनेको छ । यस उपलब्धिले अंगदानले नयाँ जीवन दिन सक्छ र प्रत्यारोपणपछि पनि स्वस्थ, सक्रिय तथा सकारात्मक जीवन जिउन सकिन्छ भन्ने सशक्त सन्देश दिएको छ ।

हरिनारायण शर्माले सबैलाई अंगदानसम्बन्धी जनचेतना फैलाउन तथा ‘अंगदान—जीवनदान’ भन्ने मानवीय अभियानलाई थप सशक्त बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =