कृषि प्रविधिमा चीन सरकारसँग हातेमालो गर्दै अघि बढ्छौँः मन्त्री पौडेल

काठमाडौं । वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुधन पौडेलले उन्नत स्तरको खेती प्रणाली विकासका लागि चीन सरकारसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार ललितपुर महानगरपालिका–२१ र दक्षिणकाली नगरपालिकाका विभिन्न स्थानमा चिनियाँ लगानीमा निर्माण हुन लागेको ग्रिनहाउस तरकारी खेती नमूना स्थलको शिलान्यास गर्दै मन्त्री पौडेलले आधुनिक कृषि प्रविधिबाट नेपालले धेरै सिक्न सक्ने बताए ।

उनले चीन विश्वमै उन्नत कृषि प्रविधि प्रयोग गरेर खेती गर्ने अग्रणी मुलुक भएकाले नेपालले पनि त्यसबाट अनुभव र प्रविधि हस्तान्तरणमार्फत ठूलो उपलब्धि हासिल गर्न सक्ने धारणा राखे ।

मन्त्री पौडेलले चीन सरकारको सहयोगमा निर्माण हुन लागेको नमूना परियोजनाले नेपाली किसान, विशेषगरी वागमती प्रदेशका कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे । उनले कृषि क्षेत्रमा आधुनिक प्रविधि र तालिम केन्द्र स्थापना गर्न चीनसँगको सहकार्यलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “कृषिमा अहिले नयाँ–नयाँ प्रविधि भित्रिसकेका छन् । चीन उच्चस्तरको प्रविधिबाट खेती गर्ने विश्वकै अग्रणी मुलुक हो । हामीले त्यहाँबाट धेरै सिक्न र जान्न सक्छौँ । यस्ता तालिम केन्द्र स्थापना गरेर नेपाली किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्न सकिन्छ । यसका लागि वागमती प्रदेश सरकार चिनियाँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार छ ।”

मन्त्री पौडेलले वागमती प्रदेश सरकारले पनि कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउने विषयलाई प्राथमिकतामा राखेको दाबी गरे । उनले उत्पादन वृद्धि, व्यावसायिक खेती विस्तार तथा किसानको आयस्तर उकास्न प्रविधिमैत्री कृषि प्रणाली आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =