यातायात क्षेत्रलाई व्यवस्थित बनाउन गण्डकी प्रदेश प्रतिवद्धः मन्त्री नेपाली

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री नेपालीले यातायात क्षेत्रसँग आबद्ध व्यवसायी, श्रमिक तथा मजदुरहरूको हकहित र संरक्षणमा मन्त्रालय सधैँ साथमा रहने बताए ।

उनले आवश्यकता अनुसार यातायात व्यवसायीसँग समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै, यातायात क्षेत्रमा कार्यरत श्रमिक तथा व्यवसायीलाई आफ्नो अधिकारसँगै कर्तव्यप्रति पनि उत्तिकै जिम्मेवार बन्न आग्रह गरे ।

मन्त्री नेपालीले यातायात क्षेत्र संवेदनशील सेवा क्षेत्र भएकाले सेवा प्रवाहमा अनुशासन, यात्रुको सुरक्षा तथा जिम्मेवार व्यवहारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यातायात क्षेत्रलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन तथा यससँग जोडिएका मजदुरहरूको हकहितका काम गर्न मन्त्रालय सधैँ तपाईंहरूसँग छ । आवश्यकताअनुसार समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ । अधिकारप्रति जति सचेत हुनुहुन्छ, कर्तव्यप्रति पनि त्यत्तिकै जिम्मेवार बन्न आवश्यक छ ।’

मन्त्री नेपालीले यातायात व्यवसायीहरूलाई एकजुट भएर काम गर्न आग्रह गर्दै यातायात क्षेत्रको सुधारका लागि सरकार, व्यवसायी र श्रमिकबीच सहकार्य अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =