‘लालीबजार’ मुद्दामा सेन्सर कागजात झिकाउन अदालतको आदेश

काठमाडौँ । चलचित्र ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन उच्च अदालत पाटनले आदेश दिएको छ ।
मंगलबार (आज) उच्च अदालतले प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल कागजात झिकाउन आदेश दिएको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार यसबारे बुधवार पेसी तोकिएको छ । यसबारे भोली पुनः छलफल हुने उनले बताए ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले गत १५ वैशाखमा आगामी २२ वैशाखसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको थियो ।
वादी समुदायकी रोशनी नेपालीले चलचित्रका केही शब्द प्रयोगमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।
यम थापाको निर्देशनमा बनेको यो चलचित्र गत १८ वैशाखमा नै प्रदर्शनमा आउने तयारी थियो । षट्कोण आर्ट्सको निर्माण रहेको फिल्म वादी समुदायका महिलाको सङ्घर्षलाई केन्द्रमा राखेर बनाइएको बताइएको छ ।








