थालापती विजय: फिल्म प्रतिबन्धदेखि सत्ताको बागडोरसम्म

काठमाडौँ । तमिल सुपरस्टार विजय (थलापति) को पार्टी तमिलगा वेत्री कझगम (TVK) ले तमिलनाडुको विधानसभा निर्वाचनमा ठूलो सफलता हासिल गर्दै जिततर्फ अघि बढेको छ । दशकौँदेखि दुई ठूला दलहरू (DMK र AIADMK) को दबदबा रहेको तमिलनाडुमा विजयको पार्टीले नयाँ राजनीतिक शक्ति स्थापित गरेको छ ।

पहिले तमिलनाडुमा सधैँ दुईवटा पार्टीबीच आलोपालो सत्ता परिवर्तन हुन्थ्यो । तर, विजयको पार्टीले यो पुरानो समीकरणलाई तोडेर सत्ताको बागडोर सम्हाल्ने देखिएको छ ।

विजयले कुनै पनि ठूला दल वा राजनीतिक घरानासँग मिलेर चुनाव लडेनन् । उनले आफूलाई ‘परिवर्तनको संवाहक’ र ‘स्वच्छ विकल्प’ को रूपमा प्रस्तुत गरे ।

फिल्मी पर्दादेखि राजनीतिसम्म:

सन् २०१३ मा आएको उनको फिल्म ‘थलाइवा’ जसको ट्यागलाइन ‘टाइम टु लिड’ थियो । उक्त फिल्मबाट नै उनको राजनीतिक यात्राको संकेत मिलेको थियो । त्यतिबेला फिल्मको ट्यागलाइन र विजयका बुबाले विजयको राजनीतिक महत्वाकांक्षाको बारे दिएको अन्तर्वार्ताका कारण तत्कालीन मुख्यमन्त्री जयललिता रिसाइन् र उनले राज्यमा फिल्मको रिलिजमा प्रतिबन्ध लगाइन् ।

त्यसपछि उनले आफ्ना फिल्महरू (मेर्सल, सरकार, मास्टर) मार्फत जनताका मुद्दा उठाए, जसले गर्दा मानिसहरूमा उनीप्रति विश्वास जाग्यो । त्यति मात्र होइन, उनले बालबालिकाहरूलाई आफ्ना अभिभावकहरूलाई ‘टिभीके’ (TVK) मा भोट हाल्न मनाउन अपील गरेका थिए, जसले प्रभावकारी रूपमा काम गर्‍यो ।

चुनावअघि उनको व्यक्तिगत जीवन र सम्बन्धविच्छेदका हल्लाहरू फैलाएर उनलाई कमजोर बनाउने प्रयास गरियो, तर जनताको समर्थनले उनलाई जितायो ।

विजयको संक्षिप्त पृष्ठभूमि:

उनको जन्म २२ जुन १९७४ मा चेन्नईको एउटा फिल्मी परिवारमा भएको थियो । उनका बुबा निर्देशक र आमा गायिका थिइन् ।

उनले ३० वर्षको फिल्मी करियरमा ७० वटा फिल्ममा अभिनय गरे र भारतकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता बने ।

अहिले उनी सिनेमा क्षेत्र छोडेर पूर्ण रूपमा राजनीतिमा होमिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =