नेपाली कलाकारहरूको नयाँ चुनौती: विचार राख्दा ‘बहिष्कार’को डर

काठमाडौँ । नेपालको संविधान २०७२ को धारा १७ ले प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ को हक दिएको छ । त्यसैले लोकतान्त्रिक मुलुकमा सबैले आफ्ना विचार तथा अभिव्यक्तिहरू स्वतन्त्र रूपले राख्न पाउँछन् । तर पछिल्लो समय नेपाली कलाकारहरूले सामाजिक सञ्जालमार्फत आफ्ना राजनीतिक, सामाजिक वा व्यक्तिगत विचार व्यक्त गर्दा उनीहरू सङ्गठित रूपमा ‘बहिष्कार’को सिकार बन्न थालेका छन् ।

नेपाली चलचित्र उद्योगमा यस्तो घटना नयाँ भने होइन । तर पछिल्लो समय यो प्रवृत्ति झन् बढ्दै गएको देखिन्छ ।

हिजो आजकै घटना । अभिनेता दयाहाङ राईले वैशाख २० गते आइतबार सरकार र सुकुम्वासीको प्रसङ्गमा सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेख्दै आफ्नो विचार सार्वजनिक गरे ।

जस्तो कि 
यहाँ , सम्पत्ति त
लुकाउन सकिने रहेछ
गरिबी पो लुकाउन सकिदोरहेनछ !!!’ उनले लेखेका छन् ।

अभिनेता राईले प्रधानमन्त्री बालेन्द्र शाहको सुकुम्वासी विस्थापन अभियानबारे सुकुम्वासीहरूको पक्षमा उभिँदै उक्त स्ट्याटस लेखेका थिए । त्यसपछि विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको समर्थन गरेको आरोप लगाउँदै सत्ता पक्षका समर्थकहरूबाट कमेन्ट बक्समै ‘बहिष्कार’का धम्कीहरू आए ।

‘यस्को मुभी नहेर्ने अबदेखि’ फेसबुक प्रयोगकर्ता अनिल गुरुङले लेखे ।
‘अब तपाईका दिन गए । तपाई जस्तो मान्छे’ प्रयोगकर्ता कार्की दीपकले लेखे ।

त्यस्तै, फेसबुक प्रयोगकर्ता मनोज खनाल लेख्छन्, ‘दयाहाङको डाउनफल सुरु भयो।

करिब ४ हजारभन्दा बढी कमेन्टमध्ये केहीले उनको भनाइलाई समर्थन गरेका छन् भने धेरैले विरोध जनाएका देखिन्छन् । त्यसैबीच अर्का प्रयोगकर्ता अभिषेक ओली लेख्छन्, बेकारमा गाली खान किन यस्तो पोस्ट गर्नुभएको होला ?’

यसरी विवाद र कन्ट्रोभर्सीमा आउन नचाहने अभिनेता राई पनि यति बेला आफ्नो एक स्ट्याटसका कारण ‘डाउनफल’को धम्की सामना गरिरहेका छन् । कतिपय व्यक्तिहरू भने उग्र हुँदै सामाजिक सञ्जालमा अपमानजनक शब्द प्रयोग गर्न समेत पछि पर्दैनन् ।

यसबीच, कलाकारहरूले पनि स्वतन्त्र रूपमा आफ्नो विचार राख्न पाउँछन् भन्ने कुरा धेरैले बिर्सिँदै गएको देखिन्छ । उनीहरूको पनि सर्वसाधारण सरह नै वाक स्वतन्त्रता हुन्छ । तर पछिल्लो समय सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र बहिष्कारका धम्कीका कारण कतिपय कलाकारहरूको करियर नै धरापमा पर्न सक्ने अवस्था देखिन थालेको छ ।

यस्तै अवस्था निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि देखिएको छ । ‘लालिबजार’सँग सम्बन्धित प्रसङ्गलाई लिएर सामाजिक सञ्जालमा आएको प्रतिक्रिया र विवादका कारण उनी पनि अनावश्यक आलोचना र बहिष्कारको दबाबमा परेका देखिन्छन् ।

गत वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै वैशाख १५ गते वादी समुदायकी रोशनी नेपालीले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्।

अदालतले उक्त चलचित्र वैशाख २२ गतेसम्म प्रदर्शन नगर्न अन्तरिम आदेश दिएपछि चलचित्रसँग सम्बन्धित कलाकार तथा निर्माण टोलीले अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै माइतीघरमा कालो पट्टी बाँधेर सडकमा विरोध प्रदर्शन गरेका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा निश्चल बस्नेत दम्पतीविरुद्ध बहिष्कारको नाराबाजी सुरु भयो ।

गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा पनि निर्देशक तथा कलाकार निश्चल बस्नेत दम्पती सहभागी भएका थिए । आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत लगायतका राज्यका संरचनामा आगजनी भएपछि कतिपयले उनीहरूलाई नै दोष लगाउँदै आएका छन् ।

जसकारण उनीहरूले अहिले सामाजिक सञ्जालमा बहिष्कार र चर्को आलोचनाको सामना गर्नु परिरहेको छ ।

फेसबुकका प्रयोगकर्ता यादव अधिकारी निश्चलको कमेन्ट बक्समा लेख्छन् ‘लगभग तिम्रो फिल्मी करिअर क्लोज्ड ब्रो ।’,

देश जसरी जलाको छ यसको फिलिम पनि यसरी नै जलोस्।’ अर्का प्रयोगकर्ता अमर राई पनि कमेन्टमा आक्रोश पोख्छन् ।

त्यस्तै विक्रम तामाङ लेख्छन् ‘खरानी ग्याङको फिल्म सबैले बहिष्कार गरौँ’

यसरी सामाजिक सञ्जालमा निश्चललाई देश जलाएको आरोप लगाउँदै कतिपयले ‘खराने’ उपनाम दिएका छन् । यसबीच कतिपय सकारात्मक कमेन्ट पनि देख्न सकिन्छ ।

एक प्रयोगकर्ता पुन टासीले चलचित्र ‘लालीबजार’को समर्थन गर्दै लेखेका छन्, ‘संसार कहाँ पुगी सक्यो एउटा जाबो डायलगले फिल्म नै चल्न नदिने कस्तो पिछडिएको सोच हाम्रो, कि प्रतिसोध हो ?’

समग्रमा भन्नुपर्दा नेपालको चलचित्र उद्योगमा सामाजिक सञ्जाल अहिले समर्थन र विरोध दुवैको प्रमुख माध्यम बन्दै गएको छ । संविधानले प्रत्येक नागरिकलाई वाक स्वतन्त्रताको हक दिए पनि कलाकारहरूले आफ्ना विचार सार्वजनिक गर्दा सङ्गठित बहिष्कार, धम्की र तीव्र आलोचनाको सामना गर्नुपर्ने अवस्था देखिएको छ ।

यसबीच, अभिव्यक्ति स्वतन्त्रता, दर्शकको प्रतिक्रिया र सामाजिक सञ्जालको प्रभावबीच सन्तुलन कायम गर्नु कलाकारहरूका लागि एक प्रमुख चुनौती बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =