झन्डै ९४ लाख भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौँ । झापा, दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयमा आर्थिक अनियमितता गरेको आरोपमा प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर गरिएको छ ।
आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यमाथि आ।व। २०७७र७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम हिनामिना तथा दुरुपयोग गरेको आरोप लागेको हो ।
प्राप्त उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरूले नमूना विद्यालय भवन निर्माणका क्रममा मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी गराएको खुलासा भएको छ ।
अनुसन्धानअनुसार भवन निर्माणको वास्तविक मूल्याङ्कन करिब १ करोड ४८ लाख ५३ हजार रुपैयाँ रहेकोमा झुट्टा बिल र कागजात तयार गरी २ करोड ७ लाख ७९ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । यसबाट मात्रै ५९ लाख २६ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको देखिएको छ ।
त्यस्तै, नगद हिनामिना, बेरुजु रकम र व्यक्तिगत प्रयोगसमेत जोड्दा उनीहरूले कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ ७२ पैसा बराबरको सरकारीरसार्वजनिक रकम दुरुपयोग गरेको आरोप छ ।
आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै बिगो असुल, जरिवाना तथा कैद सजायको माग गरेको छ ।








