कुपिण्डे दहमा तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौँ । सल्यानको मनोरम पर्यटकीय गन्तव्य कुपिण्डे दह प्राकृतिक सौन्दर्यमा मात्र सीमित रहेन, यतिबेला यो कर्णालीलाई विश्वसामु चिनाउने सिनेमाको पर्दा बन्न तम्सिएको छ ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन कुपिण्डे दहको किनारमा भव्यताका साथ सम्पन्न भएको छ ।

सुर्खेतबाट आरम्भ भएको यो कला र पर्यटनको कुम्भमेलाले कर्णालीको लुकेको कला, संस्कृति र प्राकृतिक छटालाई चलचित्रको लेन्सबाट विश्वबजारमा स्थापित गर्ने उच्च महत्वकांक्षा बोकेको छ ।

कर्णाली प्रदेशलाई चलचित्र छायांकनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने र सम्भावित छायांकन स्थलहरूको खोजी गर्ने यस अभियानलाई सरकारी तथा स्थानीय तहबाट बलियो साथ प्राप्त भएको छ । सल्यानका प्रतिनिधि सभा सदस्य रमेश मल्लको प्रमुख आतिथ्यमा सञ्चालित उक्त विशेष कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वन वातावरण तथा उद्योग पर्यटन मन्त्री सुरेश अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष डिसीले कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरको सुटिङ हबका रूपमा उभ्याउन सम्पूर्ण सरोकारवाला निकायको एकीकृत र घनिभूत प्रयास अपरिहार्य रहेको औंल्याए । यसैगरी, बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले आफ्नो क्षेत्रमा छायांकनका लागि आउने जोकोही चलचित्रकर्मी तथा प्राविधिक टोलीलाई स्थानीय सरकारले पूर्ण संरक्षण, समन्वय र सहयोग गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारले समेत कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत यस क्षेत्रमा सुटिङका लागि आउने निर्माताहरूलाई विशेष सहुलियत र प्रोत्साहन दिने नीति अघि सारिसकेको जानकारी दिइएको छ ।

महोत्सवमा सहभागी चलचित्र निर्माता, लेखक तथा निर्देशकहरूले कर्णालीको अद्भूत प्राकृतिक छटा र यहाँको मौलिक जनजीवन सिनेमाको कथावस्तुका लागि अत्यन्तै उर्वर भूमि भएको निष्कर्ष निकालेका छन् । चलचित्रकर्मीहरू सन्तोष सेन, विकास सुवेदी र प्रेम पुरीलगायतको उपस्थिति रहेको यस महोत्सवमा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले सल्लाहकारको भूमिका निर्वाह गरे ।

यसै अवसरमा स्थानीय कलाकारहरू सपना शाही र संगीता बढुवाल लगायतले पस्किएको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले महोत्सवको माहोललाई थप रोमाञ्चक र जीवन्त बनाएको थियो ।

महोत्सवले सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने मात्र नभई स्थानीय स्तरमा प्रत्यक्ष रोजगारी सिर्जना गर्ने र विश्वव्यापी चासोको विषय बनेको जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने दीर्घकालीन लक्ष्यसमेत तय गरेको छ । यसै वर्षदेखि नयाँ प्रतिभा र सिर्जनालाई लक्षित गर्दै ‘चलचित्र कथा प्रतियोगिता’ को समेत घोषणा गरिनुले कार्यक्रमको गरिमा झनै बढाएको छ ।

रेडचेरी मिडियाको मूल आयोजना, नेपाल पर्यटन बोर्ड र स्थानीय तहको रणनीतिक सहकार्य तथा चलचित्र विकास बोर्डको सक्रिय ऐक्यबद्धतामा यो महोत्सव सम्भव भएको हो । सुर्खेतको सफल उद्घाटन पश्चात् पहिलोपटक कुपिण्डे दह जस्तो अनुपम प्राकृतिक सम्पदाको काखमा यति ठूलो स्तरको सिने–महोत्सव आयोजना हुँदा स्थानीय बासिन्दा, कलाप्रेमी र सम्पूर्ण सरोकारवालाहरूमा अभूतपूर्व उत्साह र आशाको सञ्चार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =