चलचित्र ‘लाइफ ड्यामेज’ को गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समावेश गीत सार्वजनिक गरिएको छ ।
जेठ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको हो ।
सार्वजनिक डान्सिङ्ग नम्बरको गीतमा एसडी योगीको संगीत,आदर्श सुशीलको शब्द रचना, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन् ।
केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन् ।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन् । पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताए । कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले सिनेमा हेरुञ्जेल रमाइलो बनेको र दर्शकको मन जित्नेमा ढुक्क रहेको बताए । अभिनेत्री सुरक्षा पन्तले सिनेमाको आइडिया मन परेकोले आफूले काम गरेको बताइन् ।
चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ । गीतको भिडियो फन रिभोलुसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।








