सर्वोच्चले गगन थापा पक्षलाई दियो आधिकारिक कांग्रेसको मान्यता (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्रको विवादमा गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर गर्दै त्यसविरुद्ध दायर रिट खारेज गरेको हो । यससँगै विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रूपमा अस्वीकृत भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार निर्णयको संक्षिप्त आदेश सुनाइएको छ भने पूर्णबहादुर खड्काद्वारा दायर रिट खारेज भएको जानकारी अदालतले दिएको छ ।
यो निर्णयसँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले गर्ने कामकारवाहीले निरन्तर वैधानिक मान्यता पाउने भएको छ ।
शुक्रबार भएको बहसमा थापा पक्षका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालले बहस गरेका थिए ।
रिट निवेदक देउवा समूहका तर्फबाट अधिवक्ताहरू रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीले बहस गरेका थिए ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको थियो ।
यसअघि माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मागेको थियो । त्यसपछि दुवै पक्षको जवाफ प्राप्त भएपछि चैत २१ का लागि पेसी तोकिएको थियो, जुन पछि सरेर बिहीबारका लागि निर्धारण गरिएको थियो । बिहीबार सुनुवाइ नसकिएपछि शुक्रबार अन्तिम सुनुवाइ भई फैसला आएको हो ।









