नक्कली सरकारी कागजात प्रकरणमा २ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सरकारी कागजात तयार गरी प्रयोग गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सम्बन्धित कागजातमा चलानी नम्बर उल्लेख नभएको शंकास्पद पत्र पेश गरिएको थियो । अनुसन्धानका क्रममा उक्त पत्र नक्कली रहेको पुष्टि भएको हो ।
प्रकरणमा तत्कालीन आयोजना प्रमुख डा. भाइकाजी तिवारी र करार सेवामा कार्यरत याम कुमार कार्कीको संलग्नता देखिएको आयोगले जनाएको छ । उनीहरूले गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दाबाट उन्मुक्ति पाउने उद्देश्यले गलत लिखत तयार गरी प्रयोग गरेको आरोप छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन तथा सम्बन्धित कार्यालयका अभिलेखमा उक्त कागजात दर्ता नभएको तथ्यबाट लिखत नक्कली रहेको पुष्टि भएको आयोगको भनाइ छ ।
आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कैद तथा जरिवाना सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।








