कांग्रेस विशेष महाधिवेशन मुद्दामा आज सर्वोच्चमा विपक्षीको बहस, विश्वप्रकाश उपस्थित हुने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी आधिकारिकताको विवादसँग सम्बन्धित मुद्दामा आज सर्वोच्च अदालतमा विपक्षीको तर्फबाट बहसमा भाग लिने भएका छन् ।
विशेष महाधिवेशनलाई मान्यता नदिन पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि बिहीबारदेखि सुनुवाइ भइरहेको छ ।
न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबार भएको बहसमा खड्का पक्षधर कानुन व्यवसायीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए । रिटकर्ताको तर्फबाट बहस गर्नेहरूको समय बिहीबार नै सकिएको छ ।
आज शुक्रबार विशेष महाधिवेशनको पक्षबाट बहस गर्नेहरूका लागि समय छुट्याइएको छ । विपक्षीको तर्फबाट उपसभापति शर्मा स्वयं उपस्थित भई अन्य कानुन व्यवसायीहरूसँगै बहस गर्ने कार्यक्रम रहेको छ ।
विशेष महाधिवेशनलाई मान्यता नदिन दायर रिटमा सभापति गगन थापा, उपसभापति शर्मा तथा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
यसअघि बिहीबार पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट अधिवक्ताहरू गोविन्द बन्दी, शेरबहादुर केसी, पंकज कर्ण र एगराज पोखरेललगायतले बहस गरेका थिए । सोही दिन सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पनि आफ्नो धारणा राखेका थिए ।
आजको सुनुवाइमा सभापति थापा पक्षले बहस गर्ने कार्यक्रम रहेको छ ।








