इरानी दूतावासले भन्यो– अमेरिकासँग अर्को चरणको वार्ताका लागि आधिकारिक जानकारी छैन

एजेन्सी । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि हुने शान्ति वार्ताको आगामी चरण जुनसुकै बेला र जहाँसुकै हुनसक्छ । तर हालसम्म आधिकारिक रूपमा केही तय नभएको पाकिस्तानको इस्लामावादस्थित इरानी दूतावासको स्रोतले जनाएको छ ।
दूतावासको प्रेस शाखाका प्रमुख हादी गोलरिजले बताएअनुसार वार्ताको अर्को चरणको बारेमा केही सञ्चारमाध्यममा आएका रिपोर्टहरू निराधार छन् । यसअघि मंगलवार रोयटर्सले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी र इरानी वार्ता टोलीहरू यसै हप्ताको अन्त्यमा थप वार्ताका लागि पाकिस्तानी राजधानी फर्कन सक्ने बताएको थियो ।
दुई पक्षबीचको पछिल्लो चरणको वार्ता कुनै ठोस निष्कर्षविना टुङ्गिएको थियो । इरानको आणविक कार्यक्रमलाई लिएर विवाद कायमै छ । वासिङ्टनले तेहरानलाई युरेनियम संवद्र्धन रोक्न र उच्च संवद्र्धित युरेनियमको भण्डार त्याग्न दबाब दिइरहेको छ भने इरानले रोक्का गरिएको कोष फुकुवा र व्यापक प्रतिबन्ध हटाउन माग गरिरहेको छ ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमा नाकाबन्दीको नजिक आउने कुनै पनि इरानी जहाजलाई अमेरिकी सेनाले ‘नष्ट’ गर्ने चेतावनी दिएका छन् ।
पाकिस्तान, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरू वर्तमान युद्धविराम समाप्त हुनुअघि वार्तालाई पुनर्जीवित गर्न काम गरिरहेका छन् ।









