विधिको शासनमा बाधा आए प्रतिवाद गर्छौंः एमाले

काठमाडौँ । नेकपा एमालेले सरकारले विधिको शासनमा बाधा पुर्याएमा प्रतिवाद गर्ने बताएको छ ।

सोमवार सिंहदरबारमा बसेको सर्वदलिय बैठकमा एमालेले विधिको शासनलाई प्राथमिकता दिनुपर्ने बताएको हो ।

एमालेका सांसद गुरु बरालले विधिको शासनभित्र सबै गतिविधि कानुनसम्मत हुनुपर्नेमा आफूहरूले जोड दिएको बताए । कानुनको परिपालनमा एमालेले कुनै बाधा अड्चन नपुर्याउने पनि उनले बताए । तर सरकार नै विधिको शासनमा नलागे एमालेले प्रतिवाद गर्ने उनको भनाई छ ।
उनले संविधानले प्रदत्त गरेका नागरिकको राजनीतिक, मौलिक र समानताको हकलाई कुनै किसिमको बाधा नपुर्याउन सरकारलाई चेतावनी दिए ।

नागरिकको मौलिक हक कुण्ठित गरेमा एमालेले प्रतिवाद गर्ने उनले बताए ।

उनले भने ‘हामी देशमा संविधानको प्रयोग र यसको कार्यान्वयनको सन्दर्भमा जे जस्ता चुनौतीहरू आज देखापरेका छन्, यी सबैको विषयमा हामी प्रतिनिधिसभामार्फत आवाज उठाउँनेछोँ । हामी विधिको शासन माग्छौँ, विधिको शासनभित्र कुनैपनि गतिविधिहरू कानुनसम्मत हुनुपर्छ । कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौँ । अझ त्यसलाई प्रबलीकरण गर्ने काममा हामी लाग्छौँ, तर जहाँ कानुनको उल्लङ्घन छ, जहाँ विधिको शासनमाथि प्रश्न उठ्छ, त्यो गम्भीर विषय छ, हामी त्यस विषयमा आवाज बुलन्द गर्नेछौँ । संविधानले प्रदत्त गरेका नागरिकहरूका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हक सँग सम्बन्धित अधिकारहरू सही रूपले प्रयोग गर्न सकौँ, त्यस विषयमा सरकारले कुनै किसिमका बाधा नल्याओस्, त्यसमा बाधा ल्याए हामी प्रतिवाद गर्नेछौँ ।’

सोमवार बसेको सर्वदलीय बैठकमा प्रतिनिधि सभा नियमावली संशोधन गर्नको लागि १५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदलमा प्रतिनिधि सभामा उपस्थित दलहरूको सहभागिता रहनेछ । यस्तै बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =