सभापति लामिछानेले दलित समुदायसँग माफी मागेकोबारे सांसद पराजुली- ऐतिहासिक कदम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दलित समुदायमाथि दलितमाथि भएको विगतमा राज्यले गरेको उत्पीडनका लागि पार्टी सभापतिको क्षमायाचनालाई महत्त्वपूर्ण र ऐतिहासिक कदम भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले यस्तो बताएका हुन् ।
उनले दलित समुदायले भोग्दै आएको विभेद र राज्यस्तरीय उत्पीडनप्रति पार्टीले लामो समयदेखि आवाज उठाउँदै आएको उल्लेख गरे । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभापति रवि लामिछानेले संसदको रोष्ट्रमबाट माफी मागेका थिए । सांसद पराजुलीले सुशासन र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार अघि बढिसकेको दाबी पनि गरे ।
उनले भने ‘नेपालको इतिहासमा दलित भएकै कारण उत्पीडनमा परेको तथा राज्यबाटै भएको प्रताडनको विरुद्धमा हामी पहिलेदेखि बोल्दै आएका हौँ । आज सभापतिज्यूले क्षमायाचनामार्फत जुन कुरा राख्नुभयो त्यो भावनात्मक मात्र नभई एउटा ऐतिहासिक कदम हो । मेरो लागि संसदको अनुभव नयाँ नभए पनि सबै जना नयाँ हुँदाखेरि एक प्रकारको उत्साह छ । सुशासन र समृद्ध नेपालको सपना पुरा गर्ने बाटोमा सरकार अघि बढिसकेको छ । त्यसमा सबै जना विश्वस्थ पनि हुनुहुन्छ ।’
मुलुकमा सुशासन कायम गर्दै नेपाल विकासको तीव्र गतिमा अघि बढ्ने विश्वास सबैले लिएको उनको भनाइ छ ।








