शान्ति र समृद्धिका नायकलाई खलनायक र देश जलाउनेलाई महानायक बनाइयो: एमाले नेता थापा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले मुलुकमा हाल शान्ति र समृद्धिका नायकलाई खलनायक र देश जलाउनेलाई महानायक बनाइएको बताएका छन् ।
बिहीबार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशको विकास गर्नेलाई हत्यारा र खलनायकको ट्याग भिराएर संसद, सिंहदरबार जलाउनेहरूलाई महानायकको रूपमा प्रस्तुत गरिएको बताए । उनले नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढङ्गबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा कथित रूपमा रंगक्रान्ति सम्पन्न गरिएको आरोप लगाए । भदौ २३ २४ को रंगक्रान्तीलाई फागुन २१ गतेको आम निर्वाचनमार्फत निलो क्रान्तिमा वैधानिकता दिइएको दाबी गरे ।
उनले रास्वपा र प्रधानमन्त्री बालेन्द्र साहको शपथलाई ऐतिहासिक जादुमयी विजयको रूपमा चित्रण गरे । रास्वपाको ऐतिहासिक विजयमा आन्तरिक रूपमा नेपाली सेना, ब्युरोक्रेसी, तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग तथा गैरसरकारी संस्थाहरूले निर्णायक भूमिका खेलेको दाबी गरे ।
बाह्य रूपमा भने अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम लगायतले प्रभाव पारेको उनको दाबी छ । नेता थापाले जेनजी आन्दोलनका घटनामा पनि विभिन्न शङ्कास्पद गतिविधिहरू भएको उल्लेख गरे । उनले सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, निजी तथा सार्वजनिक संस्थामा कुन उद्देश्य प्राप्तिको लागि आगो लगाइएको हो रु भन्दै प्रश्न गरे ।
विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न किन उक्साउनेको उद्देश्य के हो रु भन्नेपनि खुल्दै जाने बताए । उनले हाल राजनीतिक नेताहरूको गिरफ्तारी तथा देशव्यापी दमनका घटना भइरहेकोले यसको विरुद्धमा एमालेले निरन्तर आवाज उठाइरहने उल्लेख गरे ।
उनले भने ‘नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढङ्गबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ती सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र साहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री बालेन्द्र साहलाई एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा को कसको निर्णायक भूमिका रह्यो रु तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, व्यरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, वारवरा फाउन्डेसन एनजिओ आदी संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि एमालेको तर्फबाट बधाई भन्न चाहन्छु । यो जादुमय विजयको लागी बाह्य दृष्टिले क कसले निर्णायक भूमिका निवार्ह गरे ? असङ्ख्य तथ्यहरूले के स्पष्ट गर्छ भने अदृश्य शक्तिहरू टिओवी, एआई, एल्गोरिदम, गोयल्बसहरु जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुंखार खलनायक र हत्याराको रूपमा स्थापित गरे । जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए, ती संस्था र पात्रहरूले नै बाह्य रूपमा यो जादुमयी निर्णायक भूमिका खेले । त्यसैले यो ऐतिहासिक क्षणमा म ती सबै पात्रहरूलाई पनि एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको छ । कुन उद्देश्य प्राप्तिको लागी सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढङ्गबाट जलाइयो ? कुन उद्देश्य प्राप्तिको लागि, कसले ती अबोध विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न उक्साइयो रु कुन उद्देश्य प्राप्तिको लागि हतियारबद्ध टिओवीहरु २३ र २४ गते तेजस्वी रूपमा प्रकट भए ? कुन उद्देश्य प्राप्तिको लागी गैरकानूनी ढङ्गबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो ? कुन उद्देश्य पूर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्चहरू रचिँदै छ ? कुन उद्देश्यको लागि देशव्यापी रूपमा दमनचत्र र राज्य आतंक मच्चाइँदै छ ? कुन उद्देश्यको लागी विद्यार्थी तथा पेसा कर्मीहरूको सङ्गठित हुने मौलिक अधिकारलाई बलात् खोसिँदै छ ? कुन उद्देश्यको लागि मिडिया ट्रायल र साइबर आतंक सिर्जना गरिँदै छ ? निश्चय पनि भविष्यले यी प्रश्नहरूको सही जवाफ दिँदै जानेछ । तर यी प्रश्नहरू र यस्तै यस्तै प्रश्नहरू हामी सम्पूर्ण तागतसहित राज्यलाई सोध्नेछौँ ।’
उनले एमालेले एक निर्वाचन हारे पनि कमजोर नभएको बताए । युद्धमा हारेको सिपाही फेरि थप सशक्त बनेर निस्कने उनको भनाई छ ।








