जेनजी आन्दोलनदेखि सत्तासम्मः कस्तो हुनुपर्छ रवि–बालेन सम्बन्ध ?

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध यतिबेला चर्चाको केन्द्रमा छ । बालेनलाई प्रधानमन्त्री बनाउन रविले राजनीतिक त्याग गरेको भन्दै कतिपयले रविको त्यागको प्रशंसा गरेका छन् ।

फरक फरक कित्तामा रहेका नयाँ शक्तिलाई एकै पार्टीमा समेटेर झन्डै दुई तिहाइको जनमत ल्याएका रवि–बालेनको जोडीलाई धेरैले आशाका रूपमा हेरेका छन् । लामो समयदेखि भागबण्डाको राजनीतिमा रुमलिएको नेपालको संसदीय राजनीति अब रवि–बालेनको सहकार्यले स्थिर बन्ने आशा गरिएको छ ।

उसो त, भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले जन्माएको वैकल्पिक राजनीतिक चेतनादेखि अहिलेको सत्ता समीकरणसम्म आइपुग्दा बागमतीमा धेरै पानी बगिसक्यो । त्यसरी नै रवि–बालेनको सम्बन्धमा पनि उतारचढावपूर्ण आएकै थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारका सुरुवाती दिनमा रवि–बालेनसँगै हिँडेनन् । त्यतिबेलै दुवै नेताहरुबीच सम्बन्ध राम्रो नरहेको चर्चा सुनिन्थ्यो । सुदूरपश्चिमको दार्चुलादेखि सुदूरपुर्वको ताप्लेजुङसम्म बालेन एक्लै दौडिए । रविसँग सहकार्य नगरेको भन्दै कति नेताहरूले सञ्जालमा आलोचना पनि गरे ।

तर, बिस्तारै आलोचना कम हुँदै गयो र रवि–बालेनपनि नजिक हुँदै गए । जेनजी आन्दोलनले वैकल्पिक नेतृत्वको खोजी गरेको थियो । त्यसमा पनि रवि–बालेनमा आशा देखाएको थियो । त्यस कारण पनि उनीहरू मिल्नुको विकल्प पनि थिएन । पार्टीको विचारमा मतभेद रहे पनि दुवै नेताहरूको उद्देश्य भने एउटै छ । सुशासन, पारदर्शिता र परिणाममुखी कामलाई मुख्य एजेन्डा बनाएका उनीहरूले वैचारिक भिन्नतालाई मुख्य समस्याका रूपमा लिनु हुँदैन ।

प्रारम्भिक सहकार्य र समान एजेन्डा

काठमाडौँ महानगरमा बालेन शाहको नेतृत्व र संसदमा रास्वपाको भूमिकाबिच धेरै विषयमा समानता देखियो । भ्रष्टाचारविरुद्ध कडा रुख, प्रशासनिक सुधार, र जनमुखी सेवा प्रवाहमा बालेन–रविको एक मत थियो । रवि लामिछानेले सार्वजनिक रूपमा महानगरका केही सुधार प्रयासहरूको प्रशंसा गरेका सन्दर्भहरू समेत देखिए, जसले दुवैबीच सकारात्मक संकेत दिएको थियो ।

त्यसबिचमा दुवै नेताहरुबीच नीति, कार्यशैली र प्राथमिकतामा केही मतभेदहरू सतहमा नआएका पनि होइनन् । संघीय सरकार, स्थानीय तह र पार्टीगत स्वार्थबीच सन्तुलन मिलाउने क्रममा कहिलेकाहीँ अप्रत्यक्ष आलोचना र दूरी देखिन्थ्यो । तर, पनि रवि–बालेनले देश परिवर्तनको साझा संकलप तयार पारे । विशेष गरी निर्णय प्रक्रियामा पारदर्शिता, कार्यान्वयनको गति र राजनीतिक समन्वयजस्ता विषयमा रवि–बालेनका फरक दृष्टिकोण होलान् । यद्यपि, यी मतभेदहरूलाई लोकतान्त्रिक अभ्यासकै स्वाभाविक हिस्साका रूपमा हेरिनुपर्छ ।

आजबाट औपचारिकरुपमा बालेन शाह देशको प्रधानमन्त्रीको भूमिकामा पुगेका छन् । रवि लामिछाने राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा छन् । अब दुवै जनाबीचको सम्बन्ध अझै महत्त्वपूर्ण बनेको छ ।

देश आर्थिक, प्रशासनिक र सामाजिक चुनौतीसँग जुधिरहेको अवस्थामा सहकार्य, संवाद र विश्वासमा आधारित सम्बन्ध अपरिहार्य देखिन्छ । रास्वपाले सशक्त प्रतिपक्ष वा सहकार्यकर्ता जुनसुकै भूमिका खेले पनि, सरकारसँगको समन्वयलाई प्राथमिकता दिनुपर्ने अपेक्षा गरिएको छ ।

कस्तो हुनुपर्छ सम्बन्ध ?

बालेन–रवि सम्बन्ध रचनात्मक सहकार्य र राष्ट्रिय मुद्दामा एकताबद्धरुपमा अगाडी बढ्नपर्छ । रवि र बालेनमा नीतिगत बहसमा स्पष्टता र पार्टीको आन्तरिक राजनीतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ ।

रवि र बालेनले पारदर्शी संवाद गर्नुपर्छ । अविश्वास घटाउने माध्यम नै संवाद भएकाले उनीहरू संवादमा रहिरहनुपर्छ । रोजगारी, सुशासन र सेवा सुधारमा उनीहरू केन्द्रित हुनुपर्छ ।

जेनजी आन्दोलनले सुरु गरेको परिवर्तनको यात्रालाई संस्थागत गर्न, प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने बीचको सम्बन्ध निर्णायक हुने देखिन्छ ।

यदि उनीहरूबीच सहकार्य र जिम्मेवार प्रतिस्पर्धाको सन्तुलन कायम रह्यो भने, यसले नेपालमा नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न सक्छ । अन्यथा, पुरानै टकराब र अस्थिरताको चक्र दोहोरिने खतरा पनि उत्तिकै रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =