‘उडान अघि इन्जिन जाँच’

नेपाल,

इतिहासका पानामा पटक–पटक लेखिएको

आशा र निराशाको मिलनबिन्दु—

जहाँ जनताको भरोसा

कहिले आन्दोलन बन्छ,

कहिले मौन पीडा।

२०६२/६३ को जनलहर,

सडकमा उत्रिएको साहस,

परिवर्तनको हुंकार—

र त्यसपछि बनेको अन्तरिम सपना,

जसले गणतन्त्रको ढोका खोलेको थियो।

तर,

सपना जति उज्यालो थियो,

वास्तविकता त्यति नै धुम्मियो—

पुराना अनुहार,

नयाँ नारामा सिँगारिएर

फेरि सिंहासनतिर फर्किए।

जनता हेरिरहे—

विश्वास राखेर,

भोट हालेर,

आशा बोकेर ।

तर फेरि पनि,

नतिजा उही पुरानो घाउ जस्तै—

नसकिने पीडा,

अधूरा वाचा,

र निराशाको लम्बिँदो यात्रा।

आज फेरि,

नयाँ शक्ति उठेको छ—

जोस छ, जगर छ,

शिक्षा छ, सपना छ।

जनताको लगभग दुई तिहाइ विश्वास,

एकै ठाउँमा केन्द्रित भएको छ—

यो अवसर हो,

तर चेतावनी पनि हो।

हे नयाँ नेतृत्व,

यो जित मात्र होइन,

यो जनताको आत्मा हो—

जसलाई धोका दिनु

इतिहासलाई फेरि रगताम्य बनाउनु हो।

उडान अघि,

इन्जिन जाँच गर—

हरेक निर्णय,

हरेक कदम,

हरेक अभिव्यक्ति।

शक्तिको दम्भमा नडुब,

किनकि दुई तिहाइको गर्व

धेरै पटक दुर्घटनामा परिणत भएको छ।

सत्ता भनेको सिंहासन होइन,

यो जिम्मेवारी हो—

जनताको सपना बोकेको

एक भारी जहाज।

सबै दललाई सँगै लैजाऊ,

किनकि राष्ट्र

एक्लो अहङ्कारले होइन,

सामूहिक सहमतिले चल्छ।

युवालाई अवसर देऊ,

तर अनुभवलाई पनि सम्मान गर—

किनकि घर चलाउन

जोस मात्र होइन,

पक्वता पनि चाहिन्छ।

हामीले सुनेका छौँ—

काण्ड, भ्रष्टाचार, अनियमितता—

अब भाषण होइन,

कानुनी दायरामा सत्य देखाऊ।

जनताको मन जित,

नत्र इतिहासले माफ गर्दैन।

हामीले देखेका छौँ—

नेपाली काँग्रेस पनि

जनमतको उचाइ चढेर

फेरि तल झरेको कथा।

‘नयाँ’ भनेर विश्वास गरिएको

२०६३/६४ को समय पनि

बिस्तारै निराशामा परिणत भएको थियो।

त्यसैले,

यो चेतावनी हो—

फेरि उही गल्ती नदोहोऱ्याऊ।

विश्वका कुनाकाप्चामा

द्वन्द्वका बादल मडारिँदै छन्,

मानवता आक्रान्त छ—

त्यसैको छायाँमा

नेपालको राजनीति

एक व्यङ्ग्य नबनोस्।

नेपाल,

अब फेरि इतिहास दोहोरिने छैन—

यदि नेतृत्वले

इमानदार निर्णय लियो भने।

यो देश

सपना मात्र होइन,

बलिदानको विरासत हो।

उडान अघि,

इन्जिन जाँच गर—

किनकि

यो यात्रा केवल तिम्रो होइन,

सम्पूर्ण राष्ट्रको हो।

 

लेखकरशब्द- सन्तोष बोहरा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =