कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न रक्षा बमको माग- ‘सत्यलाई गुमराहमा राख्न पाइँदैन’

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले भदौ २३ र २४ गतेका घटनाहरूको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रतिवेदनलाई दराजमा थन्क्याउनुको साटो पारदर्शी रूपमा बाहिर ल्याउनुपर्नेमा जोड दिएकी हुन् ।
भदौ २३ र २४ का घटनाहरू नेपालको सन्दर्भमा अत्यन्तै संवेदनशील भएको उल्लेख गर्दै अभियन्ता बमले छानबिन आयोगको प्रतिवेदनमा धेरै गम्भीर पक्षहरू समेटिएको हुन सक्ने बताएकी छन् । तथापि, संवेदनशीलताको बहाना बनाएर सत्यलाई जनताको नजरबाट ओझेलमा पार्ने पुरानो प्रवृत्ति अब स्वीकार्य नहुने उनको भनाइ छ ।
‘संवेदनशीलताको नाममा सत्यलाई नागरिकबाट टाढा राख्ने परम्परा अब दोहोरिनु हुँदैन ,’ उनले लेखेकी छन्, ‘प्रतिवेदनमा के छ र घटनाको वास्तविकता के हो भन्ने कुरा बुझ्न पाउनु जनताको अधिकार हो ।’
अभियन्ता बमले प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने पक्षमा आफ्नो समर्थन रहे पनि कार्यान्वयनसँगै पारदर्शिता पनि उत्तिकै अनिवार्य रहेको औँल्याएकी छन् । लुकाएर गरिने कार्यान्वयनले लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गर्ने उनको तर्क छ । अन्तरिम सरकारलाई स्पष्ट आग्रह गर्दै उनले भनेकी छन्, ‘कार्की आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गरियोस् । हामी सरकारका हरेक कदमलाई नजिकबाट नियालिरहेका छौँ ।’








