सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्यो: आयोग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको छ ।

आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिकाअनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो । सबै मतपत्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सुरक्षित रूपमा पुर्याइसकिएको उनले बताए ।

उनकाअनुसार आयोगले २०८२ माघ २९ गतेदेखि मतपत्र ढुवानी कार्य हवाई तथा स्थलमार्गबाट एकसाथ सुरु गरेको थियो । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा क्रमशः मतपत्र ढुवानी गरिएको उनले जानकारी दिए । २०८२ पुस २२ गतेबाट मतपत्र छपाई कार्य सुरु गरी फागुन ५ गते छपाई सम्पन्न गरिएको आयोगले जनाएको छ ।

उनले भने ‘२०८२ पुस २२ गतेबाट मतपत्र छपाई सुरु गरी २०८२ फागुन ५ गते निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतपत्र छपाई सम्पन्न गरियो । २०८२ माघ २९ गतेबाट मतपत्र ढुवानी हवाई तथा स्थलमार्गबाट सुरु गरी कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी, लुम्बिनी, गण्डकी, मधेस र बागमती गरी सबै प्रदेशमा निर्वाचन आयोगको कार्ययोजनाअनुसार ढुवानी कार्यसम्पन्न गरिएको छ । समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फको मतपत्र दुई करोड तीन लाख २३ हजार गरी जम्मा चार करोड ११ लाख ५३ हजार मतपत्र ढुवानी गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पुर्याईसकिएको छ ।’

आयोगले १० लाख ९८ हजार दुई सय नमुना मतपत्रको छपाई गरी मतदाता शिक्षाको लागि सबै निर्वाचन क्षेत्रमा पठाएको पनि जानकारी दिएको छ । आयोगले निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र तथा नमुना मतपत्र जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा छपाई गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =