एमाले परित्याग गर्दै जानकीदेवी राम नेकपामा प्रवेश

काठमाडौं । नेकपा एमालेकी पूर्व समानुपातिक सांसद जानकीदेवी रामले एमाले परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् ।
२ फागुनमा एमाले त्यागेको घोषणा गरेकी रामलाई आज सिरहा क्षेत्र नं.–३ का उम्मेदवार तथा नेकपाका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले पार्टीमा स्वागत गरेका हुन् ।
राम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् । संसद्मा रहँदा उनले समावेशीता, सामाजिक न्याय र अधिकार सुनिश्चिततासम्बन्धी विषय उठाउँदै आएकी थिइन् ।
एमालेभित्र बढ्दो स्वेच्छाचारिता र व्यक्तिवादी कार्यशैली रहेको आरोप लगाउँदै उनले सुधारका लागि पटक–पटक रचनात्मक आवाज उठाउँदा पनि नेतृत्व तहबाट सुनुवाइ नभएपछि पार्टी छाड्नु परेको बताएकी छन् ।
विचारभन्दा व्यक्तिको वर्चस्व हाबी हुनु, इमान्दार कार्यकर्ता निरुत्साहित हुनु तथा संगठनात्मक मूल्य कमजोर बन्दै जानुजस्ता कारणले आफू बाध्य भएर एमाले परित्याग गर्नुपरेको उनको भनाइ छ ।










