दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी एवं उपरजिस्ट्रार निराजन पाण्डेले इजलासको आदेशअनुसार उनलाई गैरकानुनी थुनाबाट मुक्त गर्न निर्देशन जारी भएको जानकारी दिए ।
यसअघि सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाहीका लागि प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको थियो । प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।
परिसरले सर्वोच्चमा बुझाएको लिखित जवाफमा आयोगले फागुन ४ गते पठाएको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको उल्लेख गरेको थियो । निर्वाचन आयोगको पत्रपछि परिसरको टोलीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो ।








