टिकटकर अधिकारीमाथि ठगीको आरोप, सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार सूचना जारी गर्दै अधिकारीविरुद्ध ठगी र आपराधिक लाभसँगै सम्पत्ति शुद्धीकरण कसुरमा पनि अनुसन्धान अघि बढाइएको जानकारी दिएको हो ।
हाल तुल्सी अधिकारी विदेशमा रहेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाइरहेको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार साउन २२ गते कुमार चिमोरियाले अधिकारीविरुद्ध ठगी र आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीमाथि अनुसन्धान जारी रहेको परिसरले जनाएको छ ।
त्यस्तै, गत कात्तिक २० गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पत्राचार गरेको पनि प्रहरीले जानकारी दिएको छ । विभागमा फागुन १९ गते अधिकारीविरुद्ध उजुरी दर्ता भएको थियो ।










