सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवन अझै अपूर्ण (तस्बिरहरू)

काठमाडौँ। सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवनको आज (फागुन ८) राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलगायतका पदाधिकारीहरूले अवलोकन तथा निर्माण कार्यको प्रगतिबारे जानकारी लिएका छन्।
फागुन २१ को आम निर्वाचन लगतै नयाँ सङ्घीय संसद्को नियमित बैठक सञ्चालन गर्नु पर्ने समय नजिकिँदै गर्दा निर्माणाधीन भवन भने अझै पूर्ण रूपमा तयार हुन सकेको छैन। सरकारी स्रोतका अनुसार हालसम्म करिब ८८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको बताइएको छ।
यसअघि सङ्घीय संसद्का बैठकहरू नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मा सञ्चालन हुँदै आएका थिए। तर भदौ २३-२४ को जेनजी विद्रोहको क्रममा उक्त परिसरमा भएको तोडफोड र आगजनीका घटनापछि भवन पूर्ण रूपमा ध्वस्त भएसँगै त्यहाँ बैठक सञ्चालन गर्ने अवस्था छैन।
नयाँ संसद् भवन निर्माणका लागि २०७६ असोज १६ गते करिब पाँच अर्ब दुई करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिएको थियो। प्रारम्भिक सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयमै काम नसकिँदा पटक–पटक म्याद थप गरिएको छ।
निर्माणाधीन भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठक कक्ष, संसदीय दलका कार्यालय, संसद् सचिवालयका संरचना तथा अन्य प्रशासनिक कक्षहरू रहनेछन्।
तस्बिरहरू :-











