‘श्री बुकुरोः द होम कलिङ’ को भव्य प्रिमियर सम्पन्न

काठमाडौँ । फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ । बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन्।

प्रिमियर शोमा सिनेमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र सिनेमाको टिम उपस्थित थिए ।

सिनेमा हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो बनेको प्रतिक्रिया दिए । उनले फिल्मले एउटा पैतृक घरलाई बुकुरो शब्दले राम्रोसँग अर्थ्याएको बताए । ‘फिल्म हेरिरहँदा यसले मलाई पुरानो घरमा पुयायो। लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झेँ,’ उनले भने ।

फिल्ममा मानवीय समवेदनाका स–साना पललाई रमाइलो तरिकाले प्रस्तुत गरेको भन्दै उनले सानोमा खोलामा खेल्ने फुपु र भदैको बुढेसकालमा भेट हुनु, लोभी मामाको क्यारेक्टरजस्ता विषयले मन छुने र वास्तविकजस्तो बनाउने उनले उल्लेख गरे ।

आवश्यकता अनुसार थप्पड लाउने र गाली पनि गर्ने आमालाई साथ दिने तिनैजना छोराहरूको भूमिका प्रशंसायोग्य रहेको उनको बुझाई थियो । यता, निर्माता तथा वितरक छविराज ओझाले पनि ‘श्री बुकुरो’को उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले सिनेमालाई कुनै उपन्यास पढिरहेजस्तो भान भएको अनुभव सुनाए । फिल्ममा प्रत्येक कलाकारको अभिनय राम्रो गरेको उनले बताए । ‘यो फिल्ममा कमेडी पनि छ । पारिवारिक सम्बन्धको कुरा र सबै कलाकारको अभिनय एकदम मन पर्यो । लक्ष्मी दिदीको अभिनय मनमा बस्ने खालको छ। उहाँले यमराजसँग कुरा गरेको, मुक्तिनाथको यात्रा सबै रमाइलो तरिकाको छ,’ उनले भने । वर्षोपछि दिदीभाइको भेट हुँदा देखाइने गतिविधिले हाम्रो समाजमा आफ्नैले छुरा हान्ने ययार्थ प्रवृतिलाई चित्रण गरेको उनले बताए ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको सिनेमा घरसँगै परिवार र समाजको कथामा बनेको छ । पुरानो थाकथलोलाई बचाइराख्नुपर्छ । साथै पारिवारिक सम्बन्ध र प्रेम जीवनमा चिना नमिल्दाको अड्चनलगायतका विषय समेटिएको छ ।

सिनेमाको मुख्य भूमिकामा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी छिन् । उनीसँगै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारले फिल्ममा अभिनय गरेका छन् ।

रुबी सेन सिंहले लगानी गरेको सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन् । सिनेमा मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =