चुनाव जहिले भए पनि एमालेकै जित सुनिश्चित : अध्यक्ष ओली

भद्रपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते नै निर्वाचन हुन सक्ने सम्भावना रहेको बताएका छन् । गृहजिल्ला झापामा आयोजित स्थानीयवासीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले सम्भवतः फागुन २१ मै चुनाव हुने उल्लेख गर्दै त्यसका लागि पार्टी तयार रहनुपर्नेमा जोड दिए । यसअघिसम्म निर्वाचनको वातावरण बन्न नसकेको भन्दै संशय व्यक्त गर्दै आएका उनले अब भने चुनावको सम्भावना बलियो रहेको संकेत गरे । ‘सम्भवतः फागुन २१ मै चुनाव हुन्छ, यो सम्भावनाकै कुरा हो । यदि सो मितिमा हुन सकेन र केही समय पछि भयो भने पनि चुनाव जित्ने पार्टी नेकपा एमाले नै हो,’ उनले भने ।

एमालेलाई देशभक्तिको प्रतिनिधित्व गर्ने र राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्ने अगुवा शक्तिका रूपमा चित्रण गर्दै उनले राष्ट्रिय हितको रक्षाका लागि एमालेको विजय अनिवार्य रहेको दाबी गरे । उनले वैचारिक, व्यावहारिक, संघर्ष र अडानका हिसाबले एमाले नै मुलुकको निर्विकल्प शक्ति भएको जिकिर समेत गरे । उनले थप स्पष्ट पार्दै भने, ‘देशभक्तिपूर्ण आन्दोलनको अगुवाइ गर्ने पार्टी एमाले नै हो । राष्ट्रको जायज हितहरूको रक्षा र संवर्द्धन गर्ने दृष्टिकोण हामीसँग मात्र छ, त्यसैले यस पार्टीले नै जित्नुपर्छ ।’

आफ्नो नेतृत्वको सरकारका पालामा देशमा विकास निर्माणका कामहरूले निकै गति लिएको दाबी गर्दै उनले समृद्धिका लागि एमालेको सरकार आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =