चुनावी दाबीमाथि गोकुलको कटाक्ष- सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसके !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरूले गरिरहेको सिट संख्याको आकलन र जितको दाबीमाथि कडा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले दलहरूका दाबी सुन्दा नेपालमा कसैले पनि चुनाव हार्ने छाँटकाँट नदेखिएको भन्दै व्यङ्ग्य गरेका हुन् ।
पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरूले सार्वजनिक मञ्चहरूबाटै आफूहरूले बहुमत ल्याउने र एकल सरकार बनाउने दाबी गरिरहेका बेला एमाले नेता बास्कोटाको यस्तो टिप्पणी आएको हो । उनले लेखेका छन्, ‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा-पढ्दा कोही पनि दोस्रो हुने देखिँदैन । सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।’
नेता बास्कोटाले दलहरूका दाबी र चुनावी होहल्लाभन्दा पर वास्तविक परिणाम मतदाताको हातमा हुने स्पष्ट पारेका छन् । निर्वाचनअघि गरिने यस्ता दाबीहरूलाई उनले ‘मनोवैज्ञानिक होडबाजी’ को संज्ञा दिँदै अन्तिम फैसला भने जनताकै विवेकमा निर्भर रहने बताएका छन् । ‘मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट होला,’ उनले अगाडि लेखेका छन्, ‘हो-हल्ला, झुटमुट र आरोप-प्रत्यारोप त युरोप-अमेरिकामा समेत देखिन्छ, यो त नेपालका लागि मामुली कुरो भइहाल्यो ।’








