दयाराम खड्कालाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा जोड

काठमाडौँ । नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुबेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतहरूलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालहरूले जोड दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
बैठकमा इतिहासविद् डा। श्रीरामप्रसाद उपाध्यायले खड्काको राष्ट्रिय योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने बताए । उनले नालापानीको लडाइँ नेपालको ऐतिहासिक गौरव भएको उल्लेख गर्दै युद्धमा प्रयोग भएका हतियारहरूलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिए ।
उनले दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न समेत माग गरे ।
उनले भने ‘हामीलाई नेपाली भनेर चिनाउने नै नालापानीको लडाइँ हो । दयाराम खड्काको योगदानले गर्दाखेरि नै ल आज हामी गोर्खाली भनेर चिनिन्छौँ । सबैले लडाइँ छोडेर भाग्दा पनि उहाँ अन्तिम समयसम्म पनि लडिरहनुभयो जसलाई अङ्ग्रेजहरूले पनि सराहना गरेका छन् । उहाँको परिवार नै एकीकरणमा लागेको हो । त्यसकारण उहाँको योगदान भनेको नेपालको लागि ऐतिहासिक योगदान हो । उहाँको बारेमा पाठ्यक्रममा पनि समावेश गर्दै राष्ट्रिय विभूति घोषित गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
दयाराम खड्का स्मृति प्रतिष्ठान प्यूठानका अध्यक्ष कमलबहादुर खड्काले दयाराम खड्काको स्मृतिमा निर्मित प्रतिष्ठानको भौतिक संरचना समेत जीर्ण अवस्थामा रहेको भन्दै राज्यले त्यसको संरक्षण गर्नुपर्ने माग राखे ।
साथै नेपालको एकीकरण र संरक्षणमा खड्काले दिएको योगदानको लागि उहाँलाई राष्ट्रिय विभूति घोषित गरी प्यूठानमै शालिक निर्माण गर्नुपर्ने माग राखे ।
उनले भने ‘आज उहाँको स्मृतिमा निर्माण गरिएको प्रतिष्ठानको भवन समेत जीर्ण अवस्थामा रहेको छ । हामीले सरकारसँग उहाँले देशका लागि गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूले लडाइँमा प्रयोग गर्नुभएका हतियारहरूको संरक्षण गर्नुपर्दछ भन्ने हाम्रो माग हो । प्यूठानमा उहाँको शालिक निर्माण गर्नुपर्ने पनि हाम्रो माग हो ।’
प्रतिष्ठानका सदस्य वेदबहादुर खड्काले दयाराम खड्काको युद्ध कौशल र योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरे । खड्काले युद्धका क्रममा प्रयोग गरेका हातहतियार समेत संरक्षण गर्नुपर्ने उनको माग छ ।
उनले भने ‘यो राष्ट्र निर्माण गर्नको लागि उहाँले जुन बलिदान दिनुभयो । उहाँको युद्ध कौशल र योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिदिनुपर्यो । उहाँले प्रयोग गर्नुभएका ऐतिहासिक हातहतियारहरूको हामी पूजा गरी बस्छौँ । तर अहिले ठाउँको अभाव छ । राज्यले एउटा राम्रो प्रतिष्ठानको भवन बनाइदिनुपर्यो ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरूले नालापानी युद्धको पत्रहरूमा थप अध्ययन, अनुसन्धान गर्दै विज्ञहरूको सुझावका आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने प्रक्रिया अगाडि बढाउन सकिने धारणा राखे ।








