चुनावी मैदानमा एजेण्डाभन्दा गालीगलौज हाबी

ओली-बालेनको जुहारी, संयम गगन !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी मैदानमा उत्रिएका राजनीतिक दल र उम्मेदवारहरूबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । मतदाता रिझाउन घरदैलोमा पुगेका नेताहरूले आफ्ना भावी योजना, भिजन र एजेण्डा प्रस्तुत गर्नुको साटो प्रतिस्पर्धीविरुद्ध व्यक्तिगत आक्षेप र गालीगलौजलाई मुख्य हतियार बनाएका छन् । सुसंस्कृत समाज निर्माणको दाबी गर्ने शीर्ष नेताहरूकै अभिव्यक्ति पछिल्लो समय विद्वेषपूर्ण बन्न थालेको छ ।

यसपटकको चुनावमा गालीगलौजको शृङ्खला प्रधानमन्त्रीका भावी उम्मेदवारबीच हुने भनिएको ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) को विषयबाट सुरु भएको हो । नेपाली कांग्रेसबाट गगन थापा, नेकपा एमालेबाट केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन साहलाई प्रधानमन्त्रीको भावी उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । सामाजिक सञ्जालमा यी तीन नेताबीच सार्वजनिक बहस हुनुपर्ने माग उठेपछि एमाले अध्यक्ष ओलीले आफू तयार रहेको बताए । तर, रास्वपा उम्मेदवार साहले ओलीको प्रस्तावलाई इन्कार मात्र गरेनन् , उनले ओलीमाथि गम्भीर र तल्लो स्तरको आरोप समेत लगाए ।

ओलीको सामाजिक सञ्जालको स्टाटसमा टिप्पणी गर्दै साहले पुरानो घटनालाई जोडेर उनलाई ‘हत्यारा र मतियार’ को संज्ञा दिए । यस्ता गम्भीर आरोपपछि चुनावी माहोल थप उत्तेजित बनेको छ । नेताहरूका अभिव्यक्ति व्यक्तिगत गालीमा मात्र सीमित नभई समुदाय लक्षित समेत हुन थालेका छन् । केही दिनअघि एमाले अध्यक्ष ओली र सचिव महेश बस्नेतले दिएको अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुर्‍याएको भन्दै पार्टीभित्रै आलोचना भयो । काठमाडौंको मेयरबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका साहले प्रयोग गरेको ‘मधेसीया छौरा’ शब्दलाई बस्नेतले ‘छाउरा’ भन्दै अर्थको अनर्थ लगाएपछि विवाद चुलिएको थियो । यद्यपि, चर्को दबाबपछि बस्नेतले क्षमायाचना गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ मा ओली र साह मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् । यी दुईबीच लामो समयदेखि अशोभनीय टिप्पणीको शृङ्खला चल्दै आएको छ । मनोनयन दर्ताका क्रममा समेत यी दुई दलका कार्यकर्ताबीच झडप भएको थियो । यस्तै, नेकपाका संयोजक पुष्पकमल दाहालले पनि साहलाई स्थापित गराउन वैदेशिक शक्तिले लगानी गरेको दाबी गरेका छन् । दाहालले विचार र सिद्धान्तभन्दा पनि ‘स्टन्ट’ का भरमा चल्नेहरूलाई बाह्य शक्तिले प्रयोग गरिरहेको आरोप लगाए पनि त्यसको प्रमाण भने पेस गरेका छैनन् । उनले आफू जोसँग पनि सार्वजनिक बहस गर्न तयार रहेको समेत बताए ।

प्रधानमन्त्रीका अन्य दाबेदारहरू गालीगलौजमा उत्रिँदा कांग्रेस सभापति गगन थापा भने तुलनात्मक रूपमा संयमित देखिएका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थापाले आफ्ना कार्यकर्तालाई चुनावी प्रचारमा विपक्षीप्रति लाञ्छना नलगाउन र केवल आफ्ना एजेण्डा मात्र प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले आफू फोटो खिचाउन र हात हल्लाउन मात्र नभई जनताको सेवक बन्न सर्लाही आएको बताए । उनले मतदातासँग आफू उनीहरूकै अंग र अंश हुन आएको भन्दै भावनात्मक सम्बन्ध गाँस्ने प्रयास गरिरहेका छन् ।

आयोगको सक्रियता र चेतावनी
राजनीतिक दलका जिम्मेवार नेताहरूबाटै घृणाजन्य अभिव्यक्ति आउन थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा खलल पुग्ने र समाजमा विद्वेष फैलाउने खालका गतिविधि बन्द गर्न आग्रह गरेको छ ।

यता निर्वाचन आयोगले पनि आचारसंहिता उल्लंघन गर्नेहरूमाथि निगरानी बढाएको छ । आयोगले रास्वपाका बालेन साह , एमालेका महेश बस्नेत , श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार निकोलस भुसालसँग स्पष्टीकरण सोधेको छ । यस्तै , विवादास्पद र आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा अन्य केही उम्मेदवार र समर्थकहरूमाथि पनि आयोगले कडाइ सुरु गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं निर्वाचन आयोगलाई नै लाञ्छित गर्ने गरी अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका छन् भने स्वागत नेपाललाई साइबर ब्युरोले सचेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =